उमेश भुजेल, हलेसी एफएम, खोटाङ ।
कुलो माथिबाट खसेको ढुंगाले लागेर शनिबार खोटाङमा एक युवाको ज्यान गएको छ । प्रहरीकाअनुसार जिल्लाको हलेसी तुवाचङ नगरपालिका–११, राजापानीका २३ वर्षीय शंकर कार्कीको ज्यान गएको हो ।
राजापानीमा निर्माणाधीन गयटार–भुल्के सिंचाइ आयोजनाको कुलो मर्मतका लागि गिट्टी कुटिरहेको समयमा कुलोभन्दा माथिबाट खसेको ढुंगाले लाग्दा कार्की गम्भीर घाइते भएका थिए । घाइते भएका कार्कीको गाउलेले उद्धार गरी वुइपाको सनराइज मेडिकलमा सामान्य उपचार गराएपछि थप उपचारका लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय, खोटाङले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ ।
एसईपी संस्थाको रु. २९ लाख लगानीमा गयटार–भुल्के सिंचाइ आयोजना विगत् दुई हप्ता अगाडिदेखि निर्माणाधीन अवस्थामा छ ।