खोटाङ-२२ दिनदेखि प्रसारण अवरुद्ध रहेको हलेसी एफएम पुनः सञ्चालनमा आएको छ । गत वैशाख ३१ गतेदेखि प्रसारण अवरुद्ध रहेको रेडियो बुधबार बिहानबाट पुनः सञ्चालनमा आएको हो ।
वैशाख ३१ गते परेको चट्याङले नगद रु. १ लाख बराबरको उपकरणमा क्षति पुग्दा रेडियोको झण्डै महिना दिन सम्पूर्ण प्रसारण ठप्प भएको हो । सञ्चालक समितिको लामो प्रयासपछि आवश्यक उपकरण खरिद गरी आज बिहान मेख तामाङ लगायतको प्राविधिक टोलीले जडान गरेपछि रेडियो पुनः सञ्चालनमा आएको हो । २२ दिनसम्म प्रसारण अवरुद्ध हुँदा रेडियोका नियमित स्रोताहरु प्रभावित भएका थिए ।
जिल्लामा सूचना सम्प्रेषण गर्ने माध्यमका रुपमा रहेको रेडियोले प्राकृतिक प्रकोपका कारण बेला बेला ठूलो क्षति व्यहोर्नुका साथै लामो समय प्रसारणसमेत अवरुद्ध हुने गर्छ । मौसममा खराबी आएसँगै जोखिमको डरले बजिरहेको रेडियो बन्द गर्नुपर्ने अवस्था पटकपटक दोहारिन्छ । प्राकृतिक विपत्तिको सामना गर्न सक्ने उचित व्यवस्था नहुँदा रेडियोले बारम्बार यस्ता समस्या झेलिरहनु परेको छ । सामुदायिक रेडियो नाफा कमाउने उद्देश्यले नभई समुदायलाई सु–सूचित गर्नमा बढी लक्षित हुने भएकाले यसतर्फ स्थानीय सरकारको पनि ध्यान जानु आवश्यक देखिन्छ ।