हलेसी एफ एम, उमेश भुजेल,
२४ मंसीर २०७६, खोटाङ्ग, अन्तराष्ट्रिय मानव अधिकार दिवससगै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम आज समापन भएको छ । ‘समानताको पुस्ता÷ बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ यो दिबस मानाइएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म निरन्तर १६ दिन विभिन्न कार्यक्रमका साथ लैङ्गिक हिंसा विरुद्ध यो अभियान मनाइने क्रममा खोटाङ्ग जिल्लाका नगर तथा गाउपालिकाहरुमा विभिन्न कार्यक्रमका साथ अभियानलाई प्रभावकारी ढंगले संचालन गरी आज समापन गरिएको हो ।
खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलवजारमा पनि आज अन्तर्राष्टिय मानव अधिकार दिवसका साथै १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अन्तिम दिन विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यक्रम दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राईको सभापतित्वमा समापन भएको थियो । । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, विशिष्ट अतिथि संविधानसभा सदस्य दुर्गाजयन्ती राई, विशेष अतिथि नगर प्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय र जिल्ला समन्वय समितिकी उपप्रमुख गोमादेवी खत्रीको आतिथ्यतामा कार्यक्रम समापन भएको थियो । यस्तै विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।