हलेसी एफ एम, उमेश भुजेल,
१२ पुस, २०७६, खोटाङ, खोटाङको साकेला गाउँपालिका वडा नं. २ रतन्छामा परम्परादेखि स्थानीय किराँती राईहरुले साकेला पर्व मनाउदै आइरहेको साकेला थानको वृहत्तर संरक्षण सम्वद्र्धन गरिने भएको छ । गत वर्ष प्रदेश सरकारबाट विनियोजित रकम रु २० लाख बाट रतन्छाको वीच भागमा रहेका साकेला थानको मन्दिर संरक्षण, २५ रोपनी जग्गामा व्यवस्थित साकेला पार्क, अतिथि भवन , संग्राहलय निर्माणका लागि डिपिआर तयार गरिएको वडा नं. २ का अध्यक्ष उन्नत राईले वताउनुभयो ।
यी सबै काम सम्पन्न गर्नका लागि रु ७ करोड ५५ लाख वजेटको आवश्यक पर्ने र यो आर्थिक वर्षमा १ करोड ५० लाख वजेट प्रदेश सरकारबाट छुट्टिएकोले उक्त वजेटबाट निर्माण कार्य अगाडि वढिरहेको पनि अध्यक्ष राइले जानकारी दिनुभयो । यो साकेला पार्क , मन्दिर र अन्य संरचना निर्माण पछि यसबाट साँस्किृतिक , धार्मिक एवं पर्यटकीय प्रवद्र्धनको काममा टेवा पुग्ने भएकोले समग्र रतन्छाको विकास र समिृद्धिमा समेत यसबाट सहयोग पुग्ने स्थानीयवासी वताउछन् ।