रमन वन, हलेसी एफ एम,
१६ फागुन, २०७६ खोटाङ, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७ दोर्पामा नेपाली सँस्कृति झल्काउने पुरानो पञ्चेवाजाको संरक्षण सम्वद्र्धन गर्ने उद्धेश्यले दलित सचेतना समाज नेपाल संस्थाको गठन भएको छ । गत फागुन १४ गते वडा नं. ७ को वडा कार्यालय नजिकै स्थानीय हरी आचार्यको घरमा उक्त संस्थाको वडा अध्यक्ष महन्तकुमार राईले उद्घाटन गर्नुभएको संस्थाका सल्लाहकार पदम हिङमाङले हलेसी एफएमलाई जानकारी गराउनुभयो । उद्घाटनको अवसरमा स्थानीय कलाकारहरु पदम हिङमाङ, दिपक हिङमाङ, डिगन हिङमाङ, भिम बहादुर मोते , रामबहादुर मोते र विवस हिङमाङले मनै छुने पञ्चेवाजा वजाउनुभएको थियो ।
सोही अवसरमा वडाध्यक्ष महन्तकुमार राई, वडा सदस्य टिवि राई, महिला वडासदस्य कुसुम राई, वडासदस्य दिलकुमारी मुगराती, वडा सदस्य दिपक थापालाई संस्था स्थापनामा सहयोग प¥याउनु भएकोमा दोसल्ला ओढाई सम्मान गरिएको थियो । यो संस्थाका लागि वडा कार्यालयबाट रु १००,००० (एक लाख रुपैया) वजेट सहयोग प्राप्त भएको जनाइएको छ ।
त्यस्तै स्थानीय समाजसेवी हरि चौलागाईले उद्घाटन कार्यक्रमको अवसरमा संस्था सुदृढिकरणका लागि रु १२००० आर्थिक सहयोग उपलव्ध गराउनु भएको थियो भने हलेसी एफएमको अनलाइन खवर सुनेर दोर्पा निवासी हाल धरानमा वसोवास गर्दै आउनुभएका मुक्तिदाश तेजवहादुर राईले संस्थाको नाममा आजै रु १५००० आर्थिक सहयोग उपलव्ध गराउनुभएको सल्लाहकार पदम हिङमाङले हलेसी एफएमलाई जानकारी दिनुभयो । संस्थाको स्थापनाले युवाहरुलाई पुरानो संस्कृति संरक्षणमा प्रेरित गराउदै श्रृजनशिल बनाउन सहयोग पुग्ने साथै निरुद्धेश्य वनेर विदेश पलायन हुने गतिविधिलाई समेत कम गराउने सल्लाहकार हिङमाङको कथन छ ।