२०७७ कार्तिक ८, हलेसीन्युजडेस्क ।
हिन्दू धर्माबलम्बीको महान् पर्व बडा दसैंको आज आठौं दिन । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा–आराधना गरिन्छ ।
महाअष्टमीका दिन दसैँघर, कोतघर लगायत देशका विभिन्न शक्तिपीठहरुमा पशु बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । तर, यस वर्ष कोरोना संक्रमणको कारण शक्तिपीठहरुमा भक्तजनको भिड छैन । शक्तिपीठहरु सुनसान देखिएका छन् । शक्तिपीठहरुमा पशु बली पनि हुने छैनन् ।
कोरोना संक्रमणको त्रासका कारण शुक्रबार काठमाडौँको हनुमानढोका दरबारमा सांकेतिक रुपमा मात्रै फूलपाती भित्र्याइएको थियो ।
पशुबली नचढाउनेहरुले आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्छन्।
आज काठमाडौँका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरमा बलि चढाउने र पूजा आराधना गर्ने प्रचलन छ।
यसैगरी, राजधानी बाहिर काभ्रेको पलाञ्चोक भगवती र बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा हिन्दू धर्मावलम्बीले शक्तिरूपा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ।
आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतिकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित दुर्गापूजा गर्नुका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर पारिन्छ ।