मंसिर १, २०७७ (विहान ६.३० हलेसीखवरका लागि),हलेसीन्युजडेस्क /
यो वर्षको दिपावली यमपञ्चकको आज अन्तिम दिन भाइटीका । दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ ।
दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
भाइटीका आज दिनभर लगाउदा कुनै बाधा नभए पनि साइत खोज्नेका लागि विहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम छ ।
भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको जनाइएको छ ।
भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।