२०७७ मंसिर १५ (दिउसो १३ वजे हलेसीखवरमा प्रशारित),हलेसीन्युजडेस्क //
जिल्ला स्तरबाट उपलव्ध भैरहेको विशेषज्ञ स्वास्थ्य सेवा अब पालिकास्तरबाट दिलाउन सरकारले व्यापक तयारी गरिरहेको छ । यही क्रममा आज सोमबार देशभरका ३९६ स्थानीय तहहरूमा ५, १० र १५ शैय्याको आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिदैछ । यससँगै सातैप्रदेशमा सरूवा रोग अस्पतालको पनि शिलान्यास हुन लागेको छ ।
यी अस्पतालहरू पूर्ण रूपमा सञ्चालन हुन अझै दुई वर्ष लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३९६पालिकाहरूमा स्थापना हुने ती अस्पतालको निर्माण र सञ्चालनको काम स्थानीय तहले गर्नेछन् । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै ३९६ पालिकामा ५, १०, १५ शैय्याको अस्पताल र सातै वटा प्रदेशहरुमा सरुवा रोग अस्पताल सञ्चालन गर्ने विषय परेको थियो । यसैअन्तर्गत अर्थ मन्त्रालयले अस्पताल निर्माण र उपकरणको व्यस्थापन गर्न रू. ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार बराबरको स्रोतको सुनिश्चितता गरेको बताइन्छ । यो वर्षका लागि अर्थबाट ६ अर्ब १२ करोड २६ लाख रूपैयाँको व्यवस्था भएपछि निर्माण कार्यका लागि सोमबार देशभर शिलान्यासको काम हुन लागेको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५ शैया ५२ अस्पताल, १० शैयाका १०९ र १५ शैयाका २३५ अस्पताल निर्माण हुन लागेका हुन् । स्वास्थ्य मन्त्रालयको नीति योजना शाखा प्रमुख डा. गुणनीधि शर्माका अनुसार ५ शैय्याको अस्पतालमा एक जना एमबीबीएस चिकित्सक, १० शैयाको अस्पतालमा २ जना एमबीबीएस चिकित्सक र १५ शैयाको अस्पतालमा दुई एमबीबीएस र एक जना विशेषज्ञ गरी तीन जना चिकित्सक रहनेछन् । उहाँका अनुसार १५ शैय्याको अस्पतालमा सर्जरी र इर्मेजेन्सी सेवा उपलब्ध हुनेछन् भने सुत्केरीको पेट चिरेर बच्चा निकाल्न सकिने सुविधादेखि एपेन्डीसाइटीस, हर्निया, हाइड्रोसिल लगायतको शल्यक्रियादेखि भाँच्चिएको हड्डी जोड्न मिल्नेसम्मका सेवाहरू दिइनेछ । अन्य पाँच र १० शैय्याको अस्पतालमार्फत आधारभूत स्वास्थ्य सेवा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मुलुकभर ७५३ पालिकाहरूमध्ये यो आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत ३९६ पालिकाका लागि मात्र बजेट छुट्याइए पनि बाँकी पालिकाहरूमा आउने आर्थिक वर्षमा बजेट छुट्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
यसअघि मुलुकमा २०४८ सालमा रामवरण यादव स्वास्थ्यमन्त्री भएका बेला हरेक गाविसमा उपस्वास्थ्य चौकी बनाउने कामको थालनी भएको थियो । ती उपस्वास्थ्य चौकीलाई २०७१ मा स्वास्थ्यमन्त्री खगराज अधिकारी भएका बेला स्वास्थ्य चौकीमा स्तरोन्नती गरियो । अहिलेसम्म हरेक वडामा स्वास्थ्य चौकी र स्वास्थ्य चौकी नभएका ठाउँमा सामुदायिक स्वास्थ्य केन्द्र छन् ।
अब वडास्तरमा भएका स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर ५, १० वा १५ शैय्याको आधारभूत अस्पताल निर्माण गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले छात्रबृत्तिमा अध्ययन पूरा गरेका चिकित्सकहरूलाई पालिकास्तरमा स्थापना हुन लागेका आधारभूत अस्पतालमा खटाइने जनाउनुभयो ।