२०७७ मंसिर १९ ( वेलुकी ७.०० वजे हलेसीखवरमा प्रशारित), हलेसीन्युजडेस्क //
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आज वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । यसका लागि फोहोर उत्सर्जन हुने उद्गम स्थानबाटै यसको वर्गिकरण गरेर उचित व्यवस्थापनका लागि छलफल गरिएको छ ।
नगरपालिकाका मेयर दिपनारायण रिजालको अध्यक्षतामा विभिन्न राजनीतिक दल, टोलबिकास समिति, उद्योग बाणिज्य संघ, होटल व्यवसायी, बिद्यालय, यातायात व्यवसायी लगायतको उपस्थितिमा आज आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा भएको छलफल र निष्कर्षलाई प्रभावकारी कार्यान्वयन गरिने हो भने यसबाट नगरपालिका सफा र शुन्दर नगरमा रुपान्तरित हुने र फोहोर वस्तुलाई कम्पोष्ट मलका रुपमा किसानले प्रयोग गर्न सक्ने नगरपालिकाले जनाएको छ ।
आजको छलफलमा कस्ता फोहोरजन्य वस्तुहरुलाई कसरी व्यवस्थापन गर्ने, कुहिने, नकुहिने र शिसाजन्य फोहोरलाई कसरी ब्यबस्थापन गर्ने भनेर अन्तरकृया भएको थियो । यसका लागि जहाँ फोहोर जन्य वस्तुहरु उपलव्ध हुन्छन्, त्यही बाट यसको वर्गिकरण गरेर व्यवस्थापनमा ध्यान दिनुपर्ने निष्कर्ष निकालिएको नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिका श्रोतका अनुसार सागसब्जी, घांसपात, फलफूल, खानेकुरा, धुलो कसिंगर जस्ता घरबाट निस्किएका फोहोर बेग्लै राख्ने र उक्त फोहोर आइतबार र बिहिवार ढुवानी गरेर कम्पोस्ट प्लान्टमा लैजाने भनिएको छ । यस्तै सकेसम्म फोहोर कम निकाल्ने र निस्किएका फोहोरहरुलाई कुहिने, नकुहिने र सिसाजन्य फोहोर गरी घरमै वर्गीकरण गरेर राख्नु पर्ने उल्लेख छ । बाटोमा हिड्ने मानिसहरुबाट निस्केको फोहोर बजारका सार्वजनिक स्थलहरुमा राखिएका डस्बिनमा राख्ने व्यवस्था गरिने छ भने बजारमा निस्केको दिशाजन्य फोहोर कम्पोष्ट प्लान्टमा लैजाने व्यवस्था गरिनेछ ।
राजनीतिक दल, समाजसेवी, शिक्षक, संघसंस्थाहरुले सरसफाइ तथा फोहोरमैला ब्यबस्थापनलाई एजेन्डाकै रूपमा प्रस्तुत गर्नु पर्ने, नगरपालिकाले फोहोरमैला तथा सरसफाइ सम्बन्धि आवश्यक नीति नियम बनाएर कार्यान्वयन गर्देै लैजानु पर्ने, टोलविकास समितिले फोहोर मैला तथा सरसफाई व्यवस्थापन सम्बन्धि जनचेतना जगाउने र शैक्षिक संस्थाहरुले फोहोरमैला उद्गमस्थलबाटै वर्गिकरण गरी विध्यार्थीमार्फत अभिभावकहरुसम्म पुर्याएर यसको कार्यान्वयनमा सहयोग पुर्याउने जस्ता महत्वपूर्ण निर्णयहरु भएको नगरपालिकाले जनाएको छ ।