२०७७ पौष ४, हलेसीन्युजडेस्क //
खोटाङ र भोजपुरको सिमाना हुदै मुन्द्धुम पदमार्ग निर्माण हुनेभएको छ । पुर्वका चार पहाडी जिल्लाको पर्यटन प्रवद्र्धनका लागि किराँत साँस्कृतिक वाङमयबाट नामाकरण गरिएको मुन्दुम ट्रेलको प्रस्थान विन्दुको रुपमा रहेको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको चखेवाभञ्ज्याङसम्मको १० किलोमिटर दुरीको पदमार्ग निर्माणको काम सुरु गरिएको हो ।
आगामी २०७८ साल बैसाख ३० गते सम्पन्न गर्ने सम्झौता गरिएको मुन्दुम पदमार्ग प्रवद्र्धन परियोजनाको पौष ३ गते प्रदेशसभा सांसद रामकुमार राईले शिलान्यास गर्नुभयो । पर्यटन प्रवद्र्धनका लागि खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङबाट मैयूडाँडा, बगरेभञ्ज्याङ, जुगेडाँडा, लौरेडाँडा हुँदै साल्पापोखरी पुग्ने ६० किलोमिटर दुरीको मुन्दुम पदमार्ग अन्तरगत साकेला गाउँपालिकाभित्र पर्ने खण्डको काम सुरु गरिएको हो ।
स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्वीस विकास नियोगको ३५ प्रतिशत गरी ९१ लाख ४५ हजार २५२ रुपैयाँमा पुरा गर्ने गरी गाउँपालिकाभित्र पर्ने मुन्दुम पदमार्गको काम सुरु गरिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले बताउनुभयो । मुन्दुम पदमार्गको साकेला गाउँपालिकाभित्र पर्ने खण्डको कामका लागि गत मंसिर ३० गते उपभोक्ता समितिसँग सम्झौता गरिएको हो । मुन्दुम पदमार्गका कारण गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने दावी गरिएको छ ।
मुन्दुम पदमार्ग प्रवद्र्धन परियोजना शिलान्यास कार्यक्रममा प्रदेशसभा सांसद रामकुमार राई, पालिका अध्यक्ष अर्जुन खड्का झंकारलगायतको उपस्थिति रहेको थियो । मुन्दुम पदमार्गको तावाभञ्ज्याङ–चखेवाभञ्ज्याङ खण्डमा पदमार्गको नयाँ ट्र्याक खोल्ने, पदमार्ग चौडा गर्ने, सुक्खा ढुंगाको सिँढि निर्माण गर्ने, सोलिङ गर्ने, जालीको सिँढी निर्माण गर्ने, पदयात्री बिश्राम गर्ने चौतारो निर्माण गर्ने, जानकारीमुलक सूचनापार्टी राख्ने लगायतका काम गरिने मुन्दुम पदमार्ग निर्माण तथा व्यवस्थापन समितिले जनाएको छ ।
चखेवाभञ्ज्याङभन्दा माथि केपिलासगढी गाउँपालिकाको सिमानासम्मको मुन्दुम पदमार्ग निर्माणको काम भोजपुरको टेम्केमैयूं गाउँपालिकाले गर्ने मुन्दुम पदमार्ग प्रवद्र्धन परियोजना संयोजक हिराबाबु थापाले बताउनुभयो ।