२०७७ पौष ८, हलेसीन्युजडेस्क //
आज नेपाली राजनीतिका त्याग र निष्ठाका सग्लो सगरमाथाका रुपमा मानिने सन्त नेता स्व कृष्णप्रसाद भट्टराईको ९७ औँ जन्म जयन्ति हो । तर वर्तमान नेपालको दारुण राजनैतिक परिवेशको धुवाँभित्र उहाँको पवित्र राजनैतिक छवि धुमिल नजर भैरहेको आभाष पाइदैछ । जताततै अब नेपालको राजनीति कता मोडिने हो ? मध्यावधि चुनाव हुने हो होइन जस्ता आम शंका र अनुमानको कोलाहल वीच नेपाली राजनीतिलाई सदैव देश र जनताको निम्ति उपयोग गर्दै व्यक्तिगत जीवन र व्यक्तिगत स्वार्थलाई कहिल्यै महत्व नदिने सन्त नेता को सम्झना गर्न शायद आफ्नै पार्टीका नेता कार्यकता्रहरुलाई समेत फुर्सद नहोला । तर निष्ठा र त्यागको जगमा राजनैतिक पिरामिड खडा गर्न प्रयत्नरत लोकतन्त्रवादीहरु जो कोहीले उहा र उहाँको कर्मलाई कहिल्यै भुल्ने छैनन् ।
स्व कृष्णप्रसाद भट्टराईको जन्म स्व पिता संकटाप्रसाद र स्व माता ललितादेवीका कान्छा छोराका रूपमा वि।सं। १९८१ पौष ०८ गते कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको थियो ।
राणा प्रधानमन्त्री वीर सम्शेरको वक्रदृष्टिमा परेका पं. विश्वनाथ भट्टराई सपरिवार बनारस निर्वासनमा गएपछि उहाँ त्यहींबाट बिहारको रामनगर राज्यका राजाका पुरोहित बन्न पुग्नुभयो ।
। उहाका छोरा संकटाप्रसाद पनि तिनै रामनगर रामराजाका पुरोहित थिए। उहाँका चारै भाइ छोराहरू भने बनारसमा बसेर अध्ययन गर्दथे। त्यहींबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए। दाइहरूको प्रभावले कान्छा कृष्णप्रसाद राजनीतिमा झन अगुवा हुन पुग्नुभयो ।
गोर्खा दरबारमा पुरोहित यज्ञेश्वर भट्टराईका छोरा पति भट्टराई पृथ्वीनारायण शाहसँग काठमाडौँ आएर दरबारमा नै पुरोहित भई बसे। यिनको सन्तति परम्परामा क्रमशः विष्णुहरि, कृष्णलाल, मेदिनीधर, कमलकान्त, विश्वनाथ हुँदै पछिल्लो पुस्तामा संकटाप्रसाद भए। संकटाप्रसादका चार भाइ छोरा― बटुकप्रसाद, नारायणप्रसाद, गोपालप्रसाद र कृष्णप्रसाद थिए । यी चार मध्येका कान्छा छोरा कृष्णप्रसाद भट्टराई हुन्।
युवावस्था
बनारसमा जन्मेका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको थियो। यिनले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि।ए। सम्मको अध्ययन पूरा गर्नुभयो । सोही विषयमा एम.ए. तहको अध्ययन पनि गरिसकेका भट्टराई भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राऊ परेकाले सो तहको परीक्षा दिनबाट बञ्चित भएकाले उहाको एम. ए.तहको अध्ययन पूरा हुन सकेन। कृष्णप्रसाद भट्टराई युवावस्थामा पत्रकार हुनुहुन्थ्यो । साथै उहाँ सोभियत सङ्घ को कम्युनिष्ट पार्टि (Communist Party of the Soviet Union) कि महासचिव निकिता ख्रुश्चेभ (Nikita Khrushchev) को अन्तर्बार्ता लिने प्रथम विदेशी पत्रकार हुनुहुन्थ्यो।
राजनीतिक जीवन
राणा प्रधानमन्त्री वीर सम्शेरको वक्रदृष्टिमा परेका पं. विश्वनाथ भट्टराई ( कृष्णप्रसाद भट्टराईका हजुरबुवा ) सपरिवार बनारस निर्वासनमा गएपछि उहा त्यहींबाट बिहारको रामनगर राज्यका राजाका पुरोहित बन्न पुग्नुभयो । उहाका छोरा संकटाप्रसाद पनि तिनै रामनगर रामराजाका पुरोहित थिए।उहाँका चारै भाइ छोराहरू भने बनारसमा बसेर अध्ययन गर्दथे। त्यहींबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए। दाइहरूको प्रभावले कान्छा कृष्णप्रसाद राजनीतिमा झन अगुवा हुन पुग्नुभयो ।
सुरुवाती
भट्टराई सन १९४२ को अङ्ग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी भएर पहिलो पटक अङ्ग्रेज सरकारबाट पक्राउ पर्नुभयो । सन् १९४५ मा बनारस हिन्दू युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीहरू बीच राजनीतिक चेतना फैलाउने काममा भट्टराई सक्रिय रहनुभयो । त्यसपछि नेपालको निरङ्कुशतन्त्र हटाउन आन्दोलन गर्नुपर्ने सम्बन्धमा छलफल हुन थाले। बीपी कोइराला र अन्य केही तात्कालीन युवाहरू पहिलेदेखि नै सँगठनमा लागेका थिए ।
नेपाली काङ्ग्रेस गठन देखि २०१७ सम्म
नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ सालमा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहेका भट्टराईले वि.सं. २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा सँगठन मन्त्रीको पद सम्हाल्नुभयो ।
नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ चैतमा नेपाली काङ्ग्रेस गठनपछि उहा सहमहामन्त्रीको पदमा पुग्नुभयो । उहाले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गर्नुएको थियो । प्रजातन्त्र स्थापनापछि २००८साल मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराईले २०१६ सालमा प्रतिनिधि सभाका सभामुखको पदको दायित्व वहन गर्नुभएको थियो । २०१५सालको आम निर्वाचनमा गोर्खाबाट भाग लिँदा उहा पराजित बन्नुभयो ।
२०१७ देखि २०४६
२०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदै गरेको तरुण दलको सभास्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै तरुण दलको अधिवेशन स्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुपर्यो । त्यसपछि पनि पटक९पटक जेल परेका भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय जेलमै बिताउनुपरेको थियो। एक दशक लामो जेल जीवनबाट मुक्त हुने वित्तिकै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घ स्थापना समारोहको उद्घाटन गर्ने भट्टराईले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान पु¥याउनुभयो ।
२०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाउनुभयो । बीपीको निधन पछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित भएका भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापति कै रूपमा रहेर नेपाली काङ्गेसको नेतृत्व सञ्चालन गर्नुभयो । नेपाली कांग्रेसको आठौँ महाधिवेशन २०४८बाट सर्वसम्मतिबाट सभापतिमा निर्वाचित गरेपछि उहाले २०५३ सम्म सभापतिको पद सम्हाल्नुभयो । भट्टराईको १७ वर्षे सभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह सम्पन्न भयो। २०४६ को जनआन्दोलन घोषणा भएको क्षेत्रपाटी सम्मेलनको सभापतित्व पनि उहाले नै गर्नुभएको थियो ।।
२०४६ को जनआन्दोलन पछि
त्यस जनआन्दोलनको पार्टी सभापतिका रूपमा नेतृत्व गर्ने भट्टराई प्रजातन्त्र पुनर्स्थापना भएपछि पहिलो अन्तरिमकालीन प्रधानमन्त्री बन्नुभयो । तोकिएको एक वर्ष भित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गराएर संवैधानिक राजा र जनताद्वारा आफूलाई सुम्पिएको काम सफलताका साथ पूरा गर्नुभयो । २०४८ को निर्वाचनमा उहा पराजित बन्नुभयो । २०१५ मा गोर्खाबाट र २०५१ मा काठमाडौँ क्षेत्र नं। १बाट निर्वाचनमा भाग लिँदा पनि उहा पराजित हुनुभएको थियो ।
भट्टराईले नेपाली कांग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, सुवर्ण शम्शेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गर्दै आउनुभएको थियो । अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङ्कल्प बोकेर करिब डेढ दशक जेल जीवन बिताउने भट्टराईले निर्वासन चाहिं कहिल्यै रूचाउनुभएन ।
दोश्रो प्रधानमन्त्रीैत्व कार्यकाल
नेपाली काङ्ग्रेस विभाजन
पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका रूपमा अर्को पार्टी गठन भयो। यसबाट भट्टराई ज्यादै चिन्तित बन्नपुग्नुभयो । पार्टी विभाजनको त्यस घटनापछि एक प्रकार उहा मौन बस्न थाल्नुभयो । २ खेमामा विभाजित नेपाली काँग्रेसलाई एकिकरण गर्ने कार्यमा उहाले ठूलो भूमिका निर्वाह गर्नुभयो ।
जनआन्दोलन २०६३ पछि
राजतन्त्रबारे भनें उहाको छुट्टै मत रहेको थियो। जनआन्दोलनपछि पनि उहा तत्कालै राजा हटाउने पक्षमा हुनुहुन्थेन । यद्यपि गणतन्त्रको स्थापना पश्चात् उहा यस विषयमा मौन नै रहनुभयो । त्यसो त बि पी सिद्दान्तका साधक जसले कुनै न कुनै प्रकारको राजतन्त्र नेपालमा चाहिन्छ भनेर बारम्बार भन्नुहुन्थयो । नया राजनीतिक माहोलमा उहाका कुरा सुन्न छाडीएपछी उहा मौन रहेको कांग्रेस वृतमै बेलाबेलामा चर्चा चल्ने गरेको छ
ब्यक्तिगत जीवन
कृष्णप्रसाद भट्टराई आजीवन अविवाहित रहनुभयो । सन्त प्रवृत्तिको भएकाले गर्दा उहालाई सन्त नेता भनेर पनि सम्वोधन गर्ने गरिन्छ । अत्यन्तै सादा जीवन भएका भट्टराई कहिलेकाँही छाता मात्र लिएर हिड्नुहुन्थयो । २०४८को निर्वाचनमा पराजित भएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास छोडेर निस्कँदा उहाको हातमा छाता र सुराही मात्र थियो ।
कृतिहरू
हालसालै उहाको -मेरो म- नामको आत्मबृत्तान्त पुस्तकाकारमा प्रकाशित भएको छ ।
मृत्यु
कृष्ण प्रसाद भट्टराईको २०६७ फागुन २० गते शुक्रबार राति ११ बजेर २६ मिनटमा काठमाडौँको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा मृत्यु भयो। उहाको पार्थिव शरीरलाई राजकीय सम्मानका साथ फागुन २२ गते पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो । यसरी जीवन भर त्याग र निष्ठाको राजीति गर्ने एउटा सन्त नेताको भौतिक अवसान भयो । उहाले छाडेर जानुभएको त्यो मार्गदर्शनमा नेपाली राजनीतिलाई डो¥याउन नसक्दा मुलुक समृद्धि र विकास चुम्ने सपना देखदै दुई तिहाइको सरकार निर्माण गर्दा समेत त्यो शिशाको घर झैँ चकनाचुर बनेको वर्तमान राजनैतिक अवस्थामा अझ कृष्णप्रसाद भट्टराईको राजनैतिक जीवनदर्शनको टड्कारो सम्झना हुनु स्वभाविक हो । जन्मजयनितको अवसरमा उहाको मार्गदर्शनलाई नेपाली जन मनले अनुसरण गर्न सकियोस भन्दै सामुदायिक रेडियो हलेसी एफएम परिवार हार्दिक श्रद्धासुमन अर्पण गर्दछ ।