२०७७ पौष १३, हलेसीन्यज डेस्क //
संसद विघटनको बिरोधमा नेपाली कांग्रेस खोटाङले दिक्तेलवजारमा विरोध प्रदर्शन गरेको छ ।पाँच वर्षका लागि अनुमोदित सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्दै केन्द्रिय समितिको निर्देशन अनुसार खोटाङ कांग्रेसले सोमबार दिक्तेलमा विरोध ¥याली निकालेको हो ।
कांग्रेसको पार्टी कार्यालयबाट सुरु भएको बिरोध ¥याली त्रिबेणीचोकबाट भानुचोक पुगेर पुनः त्रिबेणीचोकमा आई कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठ, कांग्रेस महासमिति सदस्य एबं पुर्व जिल्ला सभापति विष्णुकुमार राई, महासमिति सदस्य सरस्वती बजिमय, महासमिति सदस्य सुवासकुमार पोखरेल र महासमिति सदस्य रविप्रकाश राईले सम्बोधन गर्नुभएको थियो ।
बक्ताहरुले प्रधानमन्त्रीको असंवैधानिक कदमले हालसम्म प्राप्त उपलव्धि गुम्ने खतरा निम्तिएको बताउदै सरकारले पटक पटक गरेको गल्तिमा कांग्रेसले औला ठड्याइरहदा पनि वेवास्ता हुदा आज यो परिस्थिति व्यहोर्नु परेको भन्दै अन्तमा जनताको वीचमा आउनु परेको बताएका थिए । बिरोध ¥यालीमा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध चर्का शव्दमा नारा लगाएका थिए ।
यसैविच, विरोध कार्यक्रमको कोणसभामा विभिन्न पार्टी परित्याग गरी ४ जना युवा कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कांग्रेसका नेताहरुले खादा लगाइ पार्टीको झण्डा दिएर स्वागत गरेको पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो ।
असंवैधानिक ढंगबाट संसद विघटन गरिएको भन्दै पौष १३ गते नेपाली कांग्रेसले त्यसको विरुद्धमा देशका सबै संघीय निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन गरेको हो ।