प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्यो थप आन्दोलनको घोषणा
२०७७ माघ १४, हलेसीन्युजडेस्क //
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति वैठक विभिन्न निर्णय गर्दै मंगलवार सम्पन्न भएको छ । बैठकले तीन दिनको थप आन्दोलनको घोषणा गर्दै विभिन्न निर्णय गरेको छ । मंगलबार बसेको बैठकले माघ १९ गते सोमवार भातृ संस्थाहरुले ७७ वटै जिल्लाहरुमा विरोध प्रदर्शन तथा विरोध सभा गर्ने, माघ २४ गते शनिवार शुभेच्छुक संस्थाहरुले विरोध प्रदर्शन तथा विरोध सभाको आयोजना गर्ने र आगामी फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्य समितिहरुले जिल्ला सदरमुकामहरुमा विरोध कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।
यसैगरी नेपाली कांग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिना थपेको छ । जसअनुसार नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना म्याद थप हुनेछ । बैठकले नेपाली जनसम्पर्क समिति कतार, वहराइन, मलेसिया र साउदी अरबबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गरेको छ । साथै नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई आवद्धता प्रदान गरेको छ भने जनसम्पर्क समिति युएईको विधान स्वीकृत गरेको छ । यस्तै ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल थप गर्ने निर्णय भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७४ जिल्लामा समायोजन सकिएको छ । त्यसमध्ये सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बाँकेलगायतका जिल्लाको केही स्थानको पुनरावलोकन आएको छ । साथै सप्तरी, बारा र सिन्धुपाल्चोकको समायोजन बाँकी छ । बैठकले समायोजनसम्बन्धी बाँकी काम यथाशीघ्र सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिएको छ ।