हलेसीमा पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा स्थापना गर्न सम्झौता सम्पन्न / समृद्धिको आधारशिला तयार─मेयर इवन राई
२०७७ माघ १९, हलेसीन्युजडेस्क //
खोटाङस्थित हलेसीतुवाचुङ नगरपालिकामा रहेको प्रसिद्ध त्रिधार्मिक स्थललाई प्रवद्र्धन गर्ने क्रममा अर्को एउटा महत्वपूर्ण धार्मिक, साँस्कृतिक एवं पर्यटकीय धरोहर निर्माण हुनेभएको छ । हलेसीतुवाचुङ नगरपालिका वडा नं. ७ महादेवस्थान अन्तर्गत मञ्जुश्री डाँडोमा ६० फिट अग्लो वौद्धमार्गीहरुले दोश्रो वुद्धका रुपमा मान्दै आएका गुरु पद्मसम्भवको प्रतिमाका साथै विभिन्न संरचना सहितको वृहद पद्यसम्भवपार्क निर्माणका लागि माघ १८ आइतवार नगरपालिकाका मेयर इवन राई र नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्वु शेर्पावीचमा १९ वुँदे सम्झौता भएको हो ।
ध्वजापताका क्षेत्र, स्वागतद्धार, आध्यात्मिक ध्यानकेन्द्र, शान्तिपदयात्रा, विश्रामगृह, शान्तिवाटिका, मञ्जुश्री क्षेत्रभन्दा माथि डाँडामा गुम्वा, सरोवर निर्माण, पद्ममार्ग लगायतका संरचनासहित वढीमा ५ वर्षभित्र पद्मसम्भवको मूर्ति राख्ने गरी सम्झौता गरिएको हलेसीतुवाचुङ नगरपालिकाका प्रमुख इवन राइले हलेसी एफएमलाई जानकारी दिनुभयो ।
सम्झौता भएको ७ महिनाभित्र मञ्जुश्री क्षेत्रको १०३ रोपनी जग्गामध्ये ३ रोपनी ७ आना १ दाम जग्गामा दोश्रो पक्ष (नेपाल बौद्ध महासंघ)ले पद्मसम्भवको प्रतिमा स्थापनाको काम गर्ने सम्झौता भएको छ । हलेसी बृहत्तर गुरुयोजना अनुसार पद्मसम्भव पार्कमा करिब ५ करोडको खर्चमा पद्मसम्भवको प्रतिमा राख्ने काम पूरा गरिने नेपाल बौद्ध महासंघले जनाएको छ । पद्मसम्भवको प्रतिमा स्थापनाका लागि नगरपालिकाले स्थान उपलव्ध गराउने र ६ महिनाभित्र प्रतिमा राख्ने स्थानसम्म सडक र विद्युत व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ । यस्तै, हलेसी बृहत्तर गुरुयोजनाले तयार पारेको अवधारणा अनुसार सम्झौता भएको ३ महिनाभित्र पद्मसम्भव पार्कको डिपिआर तयार पारी दोश्रो पक्षलाई उपलव्ध गराउने, दोश्रो पक्षले डिपिआर अनुसार पद्मसम्भवको प्रतिमाको नक्सा तयार गरी स्थापना गर्नुपर्ने सम्झौता भएको छ ।
गुरुयोजनाले पारित गरेको मापदण्ड र नगरपालिकाको भवन निर्माण मापदण्ड बमोजिम मञ्जुश्री गुफा र वातावरणलाई कुनै असर नपर्नेगरी पद्मसम्भवको प्रतिमा राखिने नगरपालिकाले जनाएको छ । पद्मसम्भवको साना तथा ठूलो मुर्ती राखिने पार्क क्षेत्रमा शान्ति पूजा हल, चैत्य निर्माण, वौद्ध धर्म संग्रहालय तथा पुस्तकालय, माने निर्माण, प्रतिमा निर्माण, वौद्ध स्ववारिक्पा शिक्षण केन्द्र, अनुसन्धान केन्द्र, गार्डेन, ढल, पानी, विजुली व्यवस्थापन, तारबार तथा पर्खाल, अपांगमैत्री शान्ति मार्ग लगायतका संरचना निर्माण गरिने जनाइएकोछ । पार्कमा प्रवेश गर्ने आगन्तुकबाट शुल्क उठाएर आम्दानी बाँध्ने र पार्क क्षेत्रमा घेरावारा, पदमार्ग र मूल प्रवेशद्धार निर्माणको काम प्रथम पक्षले गर्ने छ । हलेसीमा निर्माण गरिने पद्मसम्भव पार्कले विश्वभरका बौद्धमार्गीलाई आकर्षण गराउन वातावरण बन्ने नेपाल बौद्ध महासंघका अध्यक्ष शेर्पाले बताउनुभयो । वौद्ध साहित्यमा आचार्य गुरु पद्मसम्भवले हलेसीमा अमरत्व प्राप्त गरेको उल्लेख छ ।
नगरपालिकाले लामो समयदेखि देखिरहेको गुरु पद्म सम्भवको ठूलो कदको प्रतिमा संगै आकर्षक पद्मसम्भव पार्क निर्माण गरेर धार्मिक तथा पर्यटकीय क्षेत्रमा विश्वलाई आकर्षित गराउने मधुर सपना पुरा हुने दिशातिर उन्मुख भएको भन्दै आफ्नो फेसबुक स्टाटसमा नगरप्रमुख इवन राईले गुरु पद्म सम्भवको ६० फिट अग्लो प्रतिमा निर्माण का लागि नगरपालिकाका तर्फबाट नेपाल बौद्धमहासंघका अध्यक्षसंग सम्झौता गरिसकेपछि अपार खुशी प्रकट गर्दै यस पवित्र कार्यमा सहयोग पुर्याउनुहुने संघ संस्था एवं व्यक्तिप्रति आभार प्रकट गर्दै लेख्नुभएको छ —“ विभिन्न प्रतिकूलताका वीच पनि हाम्रा सपनाहरु क्रमशः पुरा हुदैछन् । यस अवसरमा सबैलाई बधाई ! समृद्धिको एउटा महत्वपूर्ण आधारशिला तयार भएको छ । हामी हलेसीतुवाचुङ नगरपालिकाको वृहत गुरुयोजना निर्माण र कार्यान्वयनको चरणमा छौँ । आजको दिन ( माघ १८) तपाई हाम्रो लागि ऐतिहासिक दिन भएको छ । धार्मिक, सााँस्कृतिक, पुरातात्विक, र पर्यटकीय महत्वले भरिपूर्ण किराँत, हिन्दु, र वौद्ध धर्मको संगमस्थल ( त्रिधार्मिक तपोःभूमि) यस नगरको हलेसीस्थित मञ्जुश्री क्षेत्रमा गुरु पद्मसम्भवको विशाल प्रतिमा (६० फिटअग्लो) सहित पद्मसम्भवपार्क निर्माण गर्न नेपाल वौद्ध महासंघ र नगरपालिकावीच सम्झौता सम्पन्न भएको छ । पूण्य कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण नगरपालिकाका सदस्यहरु, गुरुयोजना निर्माण समिति, नगरसभा, कपन गुम्वा, नेपाल वौद्ध महासंघ, कर्मचारीहरु र सहजिकरण गर्नुहुने लामा गुरु जिगडोल लामा प्रति आभारी छौँ ”