माथिल्लो सगरमाथाका तीन जिल्लामा फोरजी सेवा सुचारु
२०७७ फागुन १, हलेसी एफएमका लागि रमन वन, सोलुखुम्बु //
हिमाली जिल्ला सोलुखुम्बुमा फोरजी सेवा सुचारु भएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावर मध्ये ६ वटा टावर सुचारु भएको नेपाल टेलिकम कार्यालय ओखलढुंगाका प्रमुख दिनेश चन्द्र पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार सोलुदुधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दुधकोशी गाउँपालिकाको कांगेलमा बिहिबार बेलुकीबाट उक्त सेवा सुचारु भएको हो ।
यस्तै, सोलुदुधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै सेवा सुचारु भइसकेको टेलिकमले जनाएको छ । क्याम्जे, डाँडाखर्क र गुदेलमा २ दिन भित्रमा सेवा सञ्चालन गर्ने गरि काम भईरहेको कार्यालय प्रमुख पन्थीको भनाई छ ।
उता, छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावर मध्ये चार वटा सुचारु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तरगत देविस्थान, दिक्तेल बजार, खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा सेवा सुचारु भएको छ ।
यस्तै, केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा सुचारु हुने गरि काम भइरहेको बताइएको छ ।
यता, ओखलढुंगा जिल्लामा पनि फोर्जी सेवा सुचारु भएको छ । २५ वटा फोर लेग टावर मध्ये ६ वटाबाट फोरजी सेवा सुचारु भएको टेलिकम शाखा कार्यालय ओखलढुंगाले जनाएको छ । सिद्धीचरण नगरपालिकाको विरेन्द्र पार्क, तलुवा, ओखलढुंगा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा सुरु भएको हो । साथै अन्य टावरहरुमा एन्टिना राख्ने कामसँगै लिंक मिलाउने काम भइरहेको पन्थीको भनाई छ ।
डाँडा चढ्नुपर्ने बाध्यता हट्यो
हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सीसीएसआई) ले रेडियो एक्सेस नेटवर्क (¥यान) एवं जेडटीईले सामाग्री जडानको काम गरिरहेको छ। अहिले नेपालमा टेलिकमका सक्रिय फोरजी प्रयोगकर्ता ३० लाख बढी नाघेको टेलिकमले जनाएको छ ।
पहिला नेट चलाउनकै लागि आधा घण्टा हिँडेर इन्टरनेट भएको स्थानमा पुग्नु पर्ने बाध्यता हटेको भन्दै सेवाग्रही हर्षित भएका छन् । गाउँगाउँमा फोरजी सेवा सुचारु भएसंगै अग्लो डाँडा चढनुपर्न वाध्यता हटेको एक सेवाग्राहीले बताउनुभयो । फोर जी सेवा केही महिना अगाडि ७७ वटै जिल्लामा विस्तार भैसकेको टेलिकमले घोषणा गरेको छ । टेलिकमको फोर जी विस्तारका लागि कुल लागत १८ अर्व ७१ करोड रुपैयाँ रहेको छ । नेपाल टेलिकमको फोर जी सेवाको पहुँच हालसम्म ६१५ स्थानीय तहमा पुगेको छ भने दशैभरि यसको पहुच पुर्याउने गरी २०७५ पौषमा सम्झौता गरी काम अगाडि वडाइएको हो ।
नेपाल टेलिकमले गत पौष मसान्त सम्ममा २९ सय ५५ ओटा विटिएस टावर मार्फत फोर जी सेवा उपलव्ध गराएको छ । कोविड १९ का कारण काममा केही ढिलाई भए पनि हाल भने द्रुत गतिमा काम भैरहेको टेलिकम कार्यालय ओखलढुङ्खाका प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिनुभयो ।