चैत्र ०२, २०७९ , Nepal
नगेन्द्रराज रेग्मी
ए नौ लाख तारा उदाए
धर्तीको आकाश हाँसेछ
शरद लाग्यो वनमा
फूलले प्रीति गाँसेछ...।
अम्बर गुरुङ, नामको त्यो कसिलो साङ्गीतिक गाँठो- म कहाँबाट, कसरी फुकाउँ ? संघर्ष र अथक मेहनतबाट कुँदिएको त्यो शीला वास्तवमै शालिग्राम थियो । त्यसलाई परैबाट दर्शन गर्दा मात्र पनि मन त्यसै त्यसै आल्हादित हुन पुग्छ । त्यसैले लाग्छ कुनै कुनै कुराहरु यस्ता हुँदा रहेछन्, जसलाई चिनाउन स्वयं शब्दहरु समेत सामथ्र्य राख्दैनन् । अम्बर गुरुङबारे लेख्न बस्दा मलाई बारम्बार यस्तै लागिरहेछ । उहाँको नाम नै काफी भए पछि त्यसैका लागि फेरि किन मेरा फिका शब्दहरु खर्च गरिरहने ? र पनि केही लेख्दैछु ।
अम्बर गुरुङ, जसले घरपरिवारबाट पनि खासै प्रोत्साहन पाएन, सङ्गीतको धेरै औपचारिक अध्ययन पनि गरेन, त्यत्रो प्रशिक्षण पनि लिएको होइन, केवल प्रयास र आफ्नै एकल प्रयासमा उ रातोदिन अभ्यस्त भइरह्यो । उ धून बनाउँछ, गीत गाउँछ, गीत लेख्छ, वाद्यवादन आफै सिक्छ, बजाउँछ र सुनाउँछ । असहज परिस्थितिबीच पनि उ यी सब कामहरु एक्लै गर्छ, बारम्बार गरिरहन्छ । के यो कुनै चानचुने कुरा हो ? भनिन्छ– कुनै कुनै कुराहरु भगवान्ले दिन्छन्, ‘गड गिफ्ट’ । यदि यो सत्य हो भने अम्बर गुरुङलाई पनि भगवान्ले सङ्गीत दिएर पठाए– यस धरतीमा । सङ्गीत सुन्नकै लागि पुनः झिकाए आफ्नै लोकमा ।
म अम्बर हुँ
तिमी धरती...।
‘एवी साहेव, यकिन मानिए एकदिन आप बहुत बढे फन्कार होँगे ।’ वाल्यकालमा अम्बर गुरुङ कहि कतैबाट प्रोत्साहित हुनु भयो भने यही शब्दबाट हुनु भयो । नत्र उहाँलाई प्रोत्साहन मिलेन त्यतिखेर । कुरा के थियो भने दार्जिलिङको एम.पी. रोडमा फज्लु अहमद नाम गरेका एक व्यक्तिको दोकान रहेछ । उनलाई सबैले फज्लु भैया भन्दथे । त्यो दोकानमा प्रायः राती राती सङ्गीतको रौनक जम्ने गथ्र्याे । घर परिवारले थाहै नपाउने गरी अम्बर त्यहाँ शरिक हुन थाल्नुभयो । अझ त्यति मात्र होइन, रेकर्डमा सुनेका कतिपय गीतहरु त्यहाँ पुगेर गाउन नै थाल्नु हुन्छ उहाँ । त्यसवखतका गायकहरु मित्रसेन र रत्नदाश प्रकाशका गीतहरुले उहाँमा राम्रै प्रभाव जमाइसकेको थियो । यसरी अम्बरका लागि त्यही दोकान र त्यही फज्लु भैया नै साङ्गीतिक क्षेत्रको प्रेरणाको प्रारम्भिक पृष्ठभूमि बन्न पुगेको कुरा (ब्ल्याक एण्ड ह्वाइट सिक्किममा सङ्गीतभित्रकाहरु पृ.२२८) थाहा हुन्छ । एकदिन उनै भैयाले अम्बर गुरुङको साङ्गीतिक प्रतिभाबाट प्रभावित हुँदै अंगालो हालेर भने– ‘आप बहुत बढे फन्कार होगेँ ।’
कस्तो बेमेल कुरा ! बाहिर फज्लु भैयाहरु यसरी अम्बर गुरुङलाई प्रोत्साहित पारिरहेछन्, वाह..वाही दिइरहेछन्, तर आफ्नै घरभित्र उहाँका पिताजी उहाँभित्र लुकेको प्रतिभा देख्नुहुन्न । उहाँ आफ्नो छोरो मादल र गिटारमा खेलेको किञ्चित रुचाउनुहुन्न । ‘हामी राइफल खेलाउने, तिमी बाजा खेलाउने ?’ ब्रिटिश भारतीय सेनाका अवकाशप्राप्त पिता उजिरसिंह गुरुङले आफ्नो एकमात्र प्यारो छोराको भविश्य निश्चित र सुरक्षित होस्, जुन सङ्गीतबाट सम्भव छैन भन्ने ठानेर यसो भन्नु भयो होला, हामी अनुमान गर्न सक्छौ । ‘सङ्गीततिर लागे तिमिले दुख पाउँछौ’ छोरालाई हाकिम बनाउने लालशा राख्ने आफ्ना बाबाको मुखबाट बारम्बार यी वाक्यहरु आए पनि उहाँले त्यसलाई त्यति वास्ता गर्नु भएन । उहाँकी माता रेनुकादेवीले भने छोराको सौखप्रति खासै विरोध जनाउनु भएन बरु प्रोत्साहननै दिनु भएको कुरा थाहा हुन्छ ।
यसरी वाल्यकालदेखिनै उहाँमा एकप्रकारको गीत सङ्गीतप्रतिको भूत सवार भएको थियो र त्यो सवार भएको भूतलाई सार्थकता प्रदान गराउन त्यतिखेरको दार्जिलिङको साङ्गीतिक वातावरण पनि सहायक भयो । यही वातावरणमा हुर्किनु भएका अम्बर गुरुङ पाँचवर्षको उमेरमा गीत गाउन सिपालु भइसक्नु भएको थियो भने आठवर्षको उमेरमा त रङ्गमञ्चमा पुगेरै गीत गाउन समथ्र्य भइसक्नु भएको थियो । दार्जिलिङको टर्नबुल स्कूलमा पढ्दा विहान विहान वाइवलको लयपूर्ण वाचनले उहाँमा साङ्गीतिक बिजारोपण गराइसकेको कुरा थाहा हुन्छ । त्यसपछि दस कक्षाको पढाइ सक्दानसक्दै उहाँ सङ्गीतको राम्रो मर्मज्ञ भएर यसका भेद र ज्ञान छुट्याउन सामथ्र्य हासिल गरिसक्नु भयो । यस बीचमा उहाँले शास्त्रीय सङ्गीत र वाद्यवादनहरु मादल, तबला, भ्वायलिन, हारमोनियम, पियानो, गिटार, मेन्डोलिनजस्ता बाजाहरु बजाउन समेत सिक्नु भयो ।
नौलाख तारा उदाए
धर्तीको आकाश हाँसे छ,
शरद लाग्यो वनमा
फूलले प्रीति गाँसे छ ।
सन् १९६१ मा सीमापारीबाट श्रोताबीच आएको यो एउटै मात्र गीतले उहाँलाई सफलताको उच्च टाकुरामा पुर्यायो । वास्तवमै भारतीय नेपालीहरुलाई मात्र होइन, नेपालमा पनि यो गीतबाट आफ्नै खाले अर्थ लगाउन सक्थ्यौ । नेपालमा नौ लाख तारा उदाउन सकेका थिएनन् । जहानियाँ राणा शासनबाट भर्खरै मात्र उन्मुक्ति पाएका नेपालीहरुको धर्तीको आकाश मुस्कुराउन लागेको छ । जनता अन्धकार र विपन्नताबाट उज्यालोको आशामा बसेका छन् । अब जागौ, उठौ.. भन्दै यो गीतले गतिलो सन्देश प्रवाहित गरेको ठानियो । नेपाली जातिले भोग्नु परेको व्यथाका सुस्केराहरु, विरह, पीडा र मार्मिकताको करुणगाथालाई हृदयस्पर्शी ढङ्गले यस गीतमार्फत् व्यक्त गरिएको छ । यसले समस्त नेपालीलाई नयाँ जागरणको शंखघोष गरेको छ, झकझक्याएको छ । देशभित्र र बहिर बसिरहेका थुप्रै नेपाली यस गीतले मर्माहित हुन पुगे । अझ भनिन्छ– धेरै प्रवासी नेपालीहरु यही गीतको सन्देशबाट आफ्नो देशमा प्रवेश गरेका थिए । अम्बर गुरुङको सङ्गीत तथा स्वरमा कलकत्तामा गएर रेकर्ड गराइएको यो गीतमा सचिन्द्रमणि गुरुङको आर्थिक सहयोग नहुँदो हो त यो गीत त हराउथ्यो हराउँथ्यो स्वयं अम्बर गुरुङको जीवनको धार पनि बदलिन सक्थयो । यस गीतले अगमसिंह गिरीसँगै अम्बर गुरुङलाई पनि लोकप्रियताको शिखरमा पुर्यायो । एक सातामा पाँचसय रेकर्ड बिक्री हुन पुगेको थियो– यो गीतको । त्यतिखेरको लागि यो कुनै चानचुने कुरा थिएन । यसका प्रारम्भिक दिनहरु सम्झँदै अम्बर गुरुङ भन्नुहुन्छ– ‘मैले आधिकारिक रुपमा सन् १९६१ सालमा नौलाख तारा गाउँदा म २४÷२५ वर्षको लक्का जवान थिएँ । त्यसवेला नेपाल वा दार्जिलिङमा गीत रेकर्ड गरिने कुनै सुविधा थिएन । यो गीतले मलाई लोकप्रियताको शिखरमा पुर्यायो । काठमाडौको रेडियो नेपालबाट पनि यो गीत त्यत्तिकै रुपमा घन्किन थाल्यो । त्यो गीतकै कारण महेन्द्र सरकारको जन्मोत्सवको उपलक्ष्यमा काठमाडौमा निम्तो प्राप्त भएपछि म आएँ । त्यो सन् १९६४ को कुरा हो । महेन्द्र सरकार गीत सङ्गीतप्रेमी होइबक्सन्थ्यो । यसकारण सरकारलेनै मलाई ‘अम्बर तिमी काठमार्डौमै बस’ भनेर हुकूम भएपछि म काठमाडौ बस्न थाले ।’
भानुभक्त स्कूलका प्रधानाध्यापक समेत हुन पुग्नुभयो केही समय– अम्बर गुरुङ, जुन स्कूल अगमसिंह गिरीद्वारा स्थापित थियो । त्यही पाठशालामा उहाँले आर्ट अकादमी अझ म्यूजिक भनेर सङ्गीतको एकाईनै स्थापना गर्न पुग्नु भयो । यही आइपुग्छन्– गोपाल योञ्जन, अरुणा लामा, शरण प्रधान, जितेन्द्र बरदेवा, रनजित गजमेर, पिटर जे कार्थक आदि आदि । यस्ता होनहार प्रतिभाहरुको हुल अम्बर गुरुङसँग साङ्गीतिक प्रशिक्षण लिन लामबद्ध भयो । अम्बर गुरुङसँग अगमसिंह गिरीको चाहिँ सन् ५० को दशकमा आएपछि मात्र सम्पर्क हुनपुग्छ । त्यसपछि त के थियो, उहाँहरुको जोडीले तहल्कानै मच्चाउन सुरु गर्यो । नौलाख तारा जत्तिकै चर्चा नपाए पनि अगमसिंह गिरीको शब्द र अम्बर गुरुङको सङ्गीतमा अरु गीतहरु पनि प्रसाारित भए– सुगौली सन्धिलाई हामीले बिर्सेको छैन भनन, नजाऊ फर्की नेपाल, उठेर भन्छ देउराली, बैशाख लाग्यो पहाडमा, कुक्कुले भन्छ सुनन... आदि आदि । दार्जिलिङमा नेपाली भाषा मान्यताको आन्दोलन चलिरहेको समयमा आएका यस्ता गीतका कारण उहाँहरुले निकै दुख कष्ट पनि झेल्नु परेको थियो । यस वापत गिरीलाई ४५ दिन र अम्बरलाई २ दिन थुनिएको थियो । जनताबाट धेरै विरोध आएकाले पछि उहाँहरु रिहा हुनुभयो ।
आधुनिक नेपाली सङ्गीतका पिता अम्बर गुरुङले सैयौ थुँगा फूलका हामी.. नेपालको राष्ट्रिय गीतको मात्र नभएर रातो र चन्द्र सूर्य.. लगायतका असंख्य राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतहरुको पनि मर्मस्पर्शी सङ्गीत दिनुभएको छ । रातो र चन्द्र सूर्य..लाई सङ्गीत भर्न उहाँलाई मात्र १५ मिनेटको समय लागेको थियो भनिन्छ । सन् ६० को दशकमा अम्बर गुरुङद्वारा सङ्गीतवध्द भएका ए कान्छा मलाई सुनको तारा...र ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो... जस्ता गीत श्रोताहरुले यति मन पराए कि त्यसको वयाननै गर्न सकिन्न । सन् १९६१ देखि २००६ सालसम्मको अवधिमा अम्बरले सैयौको संख्यामा गीतहरुको रेकर्ड गराउनु भएको थियो, जसमा– पोहोरसाल खुसी फाट्दा, म अम्बर हुँ, पोखिएर घामको झुल्का, सम्हालेर राख आदि आदि चर्चित थिए । उहाँले कुञ्जिनी, मुनामदन, मालतीमंगले जस्ता गीति नाटकहरुमा समेत सङ्गीत दिनु भएको थियो भने मनको बाँध, कर्मको फल, सपना कतिपय लगायतका थुप्रै चलचित्र र वृत्तचित्रहरुलाई पनि आफ्नो सङ्गीतले सिंगार्नु भएको छ ।
अम्बर गुरुङलाई १९६२ मा पश्चिम बंगाल सरकारको लोकमनोरञ्जन शाखाको सङ्गीत प्रमुखमा नियुक्ति मिल्यो । तर उहाँलाई अन्यत्र गएर गीत गाउन र रेकर्ड गर्न मनाही गरिएकाले उक्त सरकारी पदबाट करिव तीनवर्षमै उहाँले सो नोकरीबाट अबकाश लिनु भयो । सन् १९६७ मा करिव एकवर्ष जति कालिम्पोङको डाक्टर ग्राहम होम्स स्कूलमा सङ्गीत प्रशिक्षकको रुपमा पनि उहाँले काम गर्नुभयो । त्यसपछि उहाँ नेपाल आएर नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत एवं नाट्य एकेडेमीजस्ता विभिन्न महत्वपूर्ण स्थानमा बसेर नेपाली साङ्गीतिक जगतको विकास विस्तारमा अनवरत लाग्न पुगेको कुरा हामी सबैको मनमस्तिष्कमा अमिट बनेकै छ । उहाँ नेपाली सेनाको महासेनानीको दर्जा प्राप्त कलाकार समेत हुनुहुन्थ्यो ।
नेपाली साङ्गीतिक क्षेत्रमा त उहाँको साङ्गीतिक कौशल प्रभावकारी थियो थियो तर यसबाट भारतीय सङ्गीतकारहरु समेत अत्यन्त प्रभावित भएको कुरा यो घटनाबाट समेत थाहा पाउन सकिन्छ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको ‘ए कान्छा मलाई सुनको तारा खसाइदेउन, त्यो तारा मात्र होइन जुन पनि झारिदिउँला’ नामक अरुणा लामा र रुद्रमणि गुरुङले गाएको कालजयी गीतको ट्यून चोरेर हिन्दी गीतका सुप्रख्यात कम्पोजर आर.डी.वर्मनले तिसरी मञ्जिल फिल्ममा ‘दिवाना मुझसा नही इस अम्बरके निचे, आगे है कातिल मेरा और मै पिछे पिछे...’.भन्दै मोहम्मद रफीले यो गीत गाउन पुग्छन् । यसै सन्दर्भलाई लिएर अम्बर गुरुङले एक सार्वजनिक समारोहमा हाँसी–हाँसी भन्नुभएको छ– ‘...भारतको कलकत्तामा यो गीत रेकर्ड गरिएको थियो । त्यही समयमै यो गीत आर.डी.वर्मनले चोरेछ । त्यो गीत सुन्दा त म छक्कै परेँ ।’ आर.डी.वर्मनले त्यतिखेर आफू अम्बरबाट प्रभावित भएको कुरालाई अस्वीकार गरेपनि उनको निधन पछि निकालेको द म्यान एण्ड म्यूजिक नामक पुस्तकमा भने अम्बर गुरुङको ट्यून लिएको कुरा स्वीकारेका छन् ।
अम्बर गुरुङद्वारा गायन र सङ्गीतबध्द गरिएको तथा अगमसिंह गिरीद्वारा रचित ...नौलाख तारा उदाए.. नामक गीतलाई लिएर पनि भारतीय रेडियोबाट बजाउन प्रतिबन्ध लगाइएको थियो । भारतीय प्रचार डाइरेक्टर अनुपम लाइरीले सार्वजनिक स्थलमा गाउन नपाइने घोषणानै गरेको कुरा थाहा हुन्छ । शायद त्यसैले उहाँ आफ्ना साथीभाइहरुले अनुरोध गर्दा होटलको कोठामा ढोका बन्द गरेर मात्र यो गीत गाउने गरेको कुरा बरिष्ठ कला विश्लेषक प्रकाश सायमी सम्झनु हुन्छ । यसले नेपालीहरुको पीडा र व्यथालाई मार्मिक ढङ्गले चित्रण गरेको छ । जुन नेपाल र भारत दुवैतिर बसिरहेका जनताले बराबरी रुपमा भोग्नु परिरहेको थियो । दार्जिलिङको आन्दोलन र गोर्खालैण्ड आन्दोलनताका पनि यो गीतले सैयौचोटी बज्ने र चर्चित हुने मौका पाएको थियो ।
प्रवल गोदवा चौथा, इन्द्रराज्यलक्ष्मी, जगदम्बाश्री, भुपालमान सङ्गीत पुरस्कारजस्ता अनगिन्ती महत्वपूर्ण पुरस्कारले सम्मानित अम्बर गुरुङको जन्म विक्रम सम्बत् १९९४ सालको फागुन १४ गते लालढिकी दार्जिलिङमा भएको थियो । पिता उजिरसिंह गुरुङ र माता रेनुकादेवीको कोखबाट अन्य सन्तानहरु जन्मे पनि केवल अम्बर गुरुङ मात्र रहन पुग्नु भयो । गीतकार, सङ्गीतकार र गायक तीनै क्षेत्रमा उत्तिकै सशक्तताका आफ्नो गला र कला देखाउँदै उहाँले झण्डै पाँचसय भन्दा बढी गीतको सङ्गीत भर्न भ्याउनु भयो भने दुईसय जति गीत गाउनु भएको थियो । त्यसैगरी एकसय पचासवटा भन्दा वढी गीत उहाँद्वारा रचना भएको कुरा थाहा हुन्छ । यस्ता होनहार प्रतिभालाई हामीले हर्षाश्रु बहाउँदै बिदा गर्न वाध्य भयौ । यस्ता अमर स्रष्टाहरुलाई हामीले वर्षमा दुई पटक भन्दा बढी सम्झन नपाउने यो कस्तो विडम्बना ? कि त उहाँको जन्मदिनमा उहाँलाई सम्झनु पर्ने कि त निधन भएको दिनमा । विहान बेलुका पूजा गरेजस्तो सरस्वतीका वरद पुत्रहरुलाई उहाँहरुले गरेको असल कर्मका लागि हामीले बारम्बार सम्झिरहनुपर्छ । बल्ल बल्ल वर्षदिनमा जम्मा दुईपटक सम्झिएको व्यक्ति कसरी भावी पिढीको लागि सदा स्मरणीय हुन सक्छ ? यो गम्भीर प्रश्न हो, त्यसैले पात्रो नहेरी म उहाँबारे यसरी केही कोर्न बसेको हुँ । अतः अम्बर गुरुङ हामीसँग सशरीर नभए पनि यिनै कालजयी गीतहरुमा उहाँ सदा बाँचिरहनु भएको छ, अम्बर गुरुङ अम्बर बनिसक्नु भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !