मंसिर ०३, २०८१ , Khotang
———————तीर्थराज भट्टराई
(दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईकी ममतामयी माता पदमकुमारी भट्टराईको गत कात्तिक २६ गते निधन भएपछि हाल उहाँ मातृशोकमा हुनुहुन्छ । उहाँले यतिखेर आफ्नी स्वर्गीय आमासँग सम्बन्धित स्मृति गाथालाई लिपिबद्ध गरेर लेखिरहनुभएको छ । हामी उक्त स्मृतिलेखलाई ‘आमाको कथा र व्यथा’ शिर्षकमा क्रमशः प्रकाशित गरिरहेका छौँ । यो दोश्रो भाग हो । सं.)
जेठी देवी, माइली भगवती र कान्छी इन्दिराको विवाह भई सकेको थियो । कान्छी गीता दिदीको विवाह तयारी थियो घरमा । विवाहको पूर्वसन्ध्या भएकोले रातो माटो र कमेरो लगाएर घर चिटिक्कको भएको थियो दोर्पामा । पूर्वप्रधानपन्च तथा समाजसेवी उत्तरबहादुर राई, बुबा लक्ष्मीप्रसाद ७ न. वडाको वडा सदस्य हुनुहुन्थ्यो । वुवालाई नामले भन्दा पनि सदस्य भट्टराई भनेर चिन्थे सबैले । त्यतिबेला गाउँमा झैँ झगडा भए बस्ने गर्दथ्यो पञ्चभेला । बुवा वडाको चल्तापुर्जा जनप्रतिनिधि भएकोले होला, भेला बैठक बाक्लै हुन्थ्यो हाम्रो घरमा । अरू समय भएको पञ्चभेलाको स्मरण मेरो मानसपटलमा छैन । तर २०४० सालको पञ्चभेला जस्तो लाग्छ आमाको दमदार र साहसी प्रस्तुति सधैँ सम्झिरहन्छु म । हाम्रो घरको आँगनमा करिब २८–३० जना जम्मा हुनुभएको थियो गाउका मठाधिशहरू । पञ्चभेलाको अन्तिम छिनोफानो अदालतको फैसला सरह हुन्थ्यो त्यो समयमा ।
त्यतिबेला मैले भर्खरै सात कक्षाको परीक्षा दिएको थिएँ । सानैदेखि चन्चले स्वभाव थियो मेरो । १०–११ वर्षको उमेरमा पञ्चभेलाको सबै विषयबस्तु बुझ्ने विषय नै भएन मैले । प्रधानपञ्च उत्तरबहादुरले दुबै तर्फको कुरा सुन्नलाई उर्दी गर्नुभयो । मेरो आफ्नै कान्छा काका रामप्रसाद र आमा पद्मकुमारीको वीचको रहेछ झगडा । घर भित्रको झगडा पञ्चभेलामा परिणत भएको थियो । पञ्चभेला गाउको निर्णायक थलो मानिन्थ्यो त्यो समयमा । झगडाको विजारोपण रहेछ हर्रे खेतको सिमानामा एक घनो बाँस काटेको तथा कोदालाले खन्दा एक चपरी बढी खनेको । अहिले सुन्दा सानो कुरा जस्तो लाग्छ र हो पनि । अर्को पाटोबाट हेर्दा आफ्नो रगत र पसिना बगाएर जोडेको जमीन र बाँसको धेरै महत्व दर्शाउछ यो झगडाले । देवर भाउजु र परिवारका सदस्य बसेर मिलाउँदा हुने विषय थियो तर पञ्चभेला नै गर्नुपर्ने अवस्था आयो । भद्र भलाद्मीले तीन घण्टा दुबै पक्षको कुरा सुनेर फैसला सुनाएका थिए । चित्त बुझाउनै पथ्र्यो पञ्चभेलाको निर्णयलाई । गाउँको शक्तिशाली र माथिल्लो न्यायालय सो सरह नै थियो पञ्चभेला ।
आमा पद्मकुमारी सानो दारको भएपनि हिम्मतिलो र साहसिलो हुनुहुन्थ्यो । कहिल्यै कसैसँग नझुक्ने र आफूले पनि नबिराउने थियो स्वभाव । सही सत्यका लागि प्राण जाओस् तर आफ्नो अडानबाट तलमाथि नगर्ने । गाउँ घरमा बेलाबेला चोरीका घटना भई रहन्थे तर आमा र हामी सन्तान माथि पनि कहिल्यै चोरीको आरोप लागेन । सँस्कार र समाजमा घुलमिल हुन सिकाउँनुहुन्थ्यो आमाले । बुवा राजनीतिक मान्छे भएकोले बाल्यकालदेखि नै समाजका अगुवासँग उठबस हुने अवसर पायौँ हामीले । पढ्नका लागि ४१ सालमा घर छोडेर हिडेकोले आमा र परिवारसँगको सानिध्यता कम भयो मेरो । जतिबेला घर परिवारको माया र प्रेम पाउनु पर्ने हो, त्यो समयमा घर बाहिर हुदा एकांकी स्वभावको हुने रहेछ मानिस । मेरो आफ्नै व्यक्तिगत अनुभव र अनुभूति पनि हो यो ।
सात पास गरेर हिँडेपछि हालसम्म अधिकाश समय आमा तथा परिवारका सदस्यसँग विताउँन पाइनँ मैले । त्यसैले घर व्यवहारका विषयमा धेरै जानकारी भएन मलाई । रहरले भन्दा पनि परिस्थितिले निम्तिएको समय थियो त्यो । आमासँग टाढा भएपनि सधैँ आशिर्वाद र ममता पाई रहेँ मैले । दिदीहरूको विवाहपछि वि.सं.२०४० र २०६० को अवधिमा घर व्यवहार चलाउान आमाले अझै ज्यादा कष्ट व्योहोर्नु प–यो । दाजु गुणराज बहिरो हुनुहुन्थ्यो । शारीरिक रूपमा पनि कमजोर । कान्छो भाई पर्शुराम विद्यार्थी थिए । ऊ बेलादेखि पढ्दै पढाउँदै दिक्तेल छन् हालसम्म पनि । जे जस्तो भएपनि आमाको लागि घरको हनबेर्नु हुनुहुन्थ्यो गुणराज दाजु । घरको एकोहोरो काम गरिरहने दाजुले । बहिरो भएपनि हामी परिवारका सदस्य र छिमेकी सबैले बुझ्थ्यौँ उहाँको कुरा । नजानेको सीप केहीँ थिएन ठूलो दाजुले । उज्यालो भएदेखि नसुतुञ्जेल एकोहोरो गरिरहनुहुन्थ्यो घरको काम ।
बुबा २०६०, दाजु २०७१ र ठूली दिदी २०७३ सालमा स्वर्गारोहण हुनुभयो । पटक पटक परिवार भित्र घटना भएकोले निरस हुनुहुन्थ्यो आमा । तर निरस भएर पनि जीवन निर्वाह गर्नैपर्ने । मेरो र भाइको विवाहपछि नाति नातिनाको मायामा अल्मल्याउन थाल्नुभयो आफूलाई । बुहारी कल्पना दोर्पा विद्योदय मा.वि.को शिक्षिका भएकोले घर सम्हालेर बसिन् उनी । भाइ पर्शुराम दिक्तेल पञ्च माविमा लामो समयदेखि शिक्षक भएकोले अधिकांश समय बसाई हुन्छ उतै । मेरी श्रीमति कुमारी कान्ति बाल अस्पताल काठमाडौमा कर्मचारी । दोर्पा बस्ने कुरै भएन । अतः पछिल्लो अधिकाश समय बुहारी कल्पना र आमा बस्नुभयो दोर्पा । मेहनत गरेर जग्गा जमिन जोड्नुभएकोले आमालाई धेरै माया थियो खेतबारी पाखा पखेरोको । तल्लो–माथ्लो छमुरे, हर्रे, कोले असुरे र मुसादेउमा थियो खेतबारी । रूख विरूवा र बाँसका पातपातै चहार्नुहुन्थ्यो आमा उमेरमा । भरसक त्यस्तै मेहनत र कामको अपेक्षा थियो छोरा–बुहारीसँग । तर आमाको जस्तो कडा मेहनत गर्ने अवस्था थिएन अहिले । मानिसलाई न पहिलेको जस्तो फुर्सद छ, न जाँगर नै । तर पनि कल्पनाले एक्लै मेहनत गरेर घर व्यवहार गरिरहेकी छिन् दोर्पामा ।
२०७२ सालको भूकम्पपछि धेरै शुभेच्छुकको सहयोगमा मैले दिक्तेलमा घर बनाएको छु । २–३ वर्षदेखि आमा नियमित दिक्तेल बस्न थाल्नुभएको थियो । म नगरप्रमुख भएको कारण धेरै मानिस निवासमा आउनुहुन्छ । सबै मानिसले आशिर्वाद लिनुहुन्थ्यो आमासँग । केही दिएर मात्रै खाने स्वभाव थियो । म विहान निक्लिएर साँझ मात्रै घर आउने गर्थेँ । नगरको कामले कहिले विराटनगर र काठमाडौँ पुग्नुपर्ने । आमासँग सधैं सरसल्लाह र सेवा गर्न पाइनँ । दर्शैँ पछाडि भेट्न नपाए पनि नियमित फोनमा कुरा भई रहन्थ्यो उहाँसँग । तिहार लगत्तै दिक्तेल आउछु भन्नुहुन्थ्यो र दुई दिन पछाडि दिक्तेल आउने सल्लाह भएको थियो फोनमा आमासँग । तर.......!!
क्रमशः
[यो पनि--आमाको कथा र व्यथा ]
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !