कार्तिक ०५, २०८१ , Khotang
[ यात्रा संस्मरण तथा पुनर्मिलन]
कार्तिक २ गते २०८१, शनिबार काठमाडौबाट पूर्वसांसद कुलप्रसाद फुयाँल, दोर्पा निवासी भाउजु ललिता खनाल, छोरा अध्ययन भट्टराई र चालक निश्चल श्रेष्ठ सहित बिहानै ४ बजे अघि बढ्यौँ–दिक्तेलतर्फ । वर्षातपछि केहीदिन बन्द भएको वीपी राजमार्ग भर्खरै खुलेको थियो ।
सडकको अवस्था र सडक आसपासको प्राकृतिक विपत् हेर्दा आँखाबाट आशु आए । भयावह छ अवस्था । तर पनि सबै पक्षले सम्हालिंदै प्राकृतिक विपतको सामना गर्नुको छैन विकल्प । यही क्रममा केही दिन अगाडि काठमाडौबाट दिक्तेल आउने बस सिन्धुलीको वीच सडकमा नै दुर्घटना भएको थियो । २ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । दुर्घटना भएको उक्त बस १५ दिन अगाडि मात्रै नयाँ खरिद गर्ने गाडी मालिक थिए–कान्छा कार्की । लामो समयदेखि यातायात व्यवसायमा सलग्न हुन् उनी । बाहिरबाट हेर्दा बस मालिकले प्रशस्तै पैसा कमाएको देखिन्छ तर उसले बैँकबाट लिएको ऋण र कच्ची सडकमा भाँचिएका पार्टपुर्जाको हुदैन लेखादोखा । त्यसभित्र आईपर्ने अप्ठ्यारो र असहजतालाई फस्र्याउन सक्छु भन्ने हिम्मतले नै गरिन्छ जोखिम मोलेर व्यवसाय ।
हामी खानाखान पुग्यौं ११ बजे जयरामघाट । खाना खाएर यही पीडाबाट गुज्रिएका युवा व्यवसायी कान्छा कार्कीलाई सहानुभूति प्रकट गर्न पूर्व माननीय कुलप्रसाद फुयल र म जयरामघाट स्थित कार्की होटलमा पुग्यौं । कार्कीजीसँग भेट भएन । दुर्घटनामा घाइते भएकी जेठी छोरी, कान्छी छोरी र त्यहाँ हुनुहुदो रहेछ उहाकी श्रीमति । हामीले सद्भाव र सहानुभूति बाँडि रहदा आउनुभयो ७५–८० वर्ष हाराहारिका २ जना अपरिचित पुर्खाहरु । उमेरले पाको हुनुभएकोले दुई हात जोडेर गरेँ सम्मान र मैले मागेँ उहाँहरूको परिचय । अप्ठेरो गरेर बोल्नुभयो नेपाली भाषा र झापा घर भएको दिनुभयो जानकारी ।
बोल्दै र बुझ्दै जाँदा विगत ७५ वर्षदेखि बस्नुहुदो रहेछ भारतको पश्चिम बंगाल स्थित आलेपुर जिल्ला मादरीहाटमा । जग्गा जमिन भएकोले घर झापा भनिएता पनि असली हुनुहँुदो रहेछ भारतीय नेपाली । जन्म सोलुको वाक्सा तर ५ वर्षको वाल्यावस्थामा आमाले दुई दाजुभाई च्यापेर भौतारिँदै पुग्नु भएछ भारत । तत्कालिन समयको परिवेश र महिलामाथि लगाउने लान्छना र असह्य विभेदको पीडा सहन नसकेर हुनसक्छ विस्थापित हुनु परेको । त्यो विभेद र पीडा हामी पुरूषले व्यक्त गर्न सक्दैनौँ होला, तर पक्कै पनि अन्तष्करणबाट गर्न सकिन्छ अनुभूति । नभए ४ सन्तान मध्येका १० वर्षीय जुम्ल्याहा गंगा र जमुनालाई त्यहीँं छोडेर किन हिड्थिन् वर्षेनीका ५ र ६ वर्षीय छोराहरुलाई कुम्लोमा बोकेर परदेश । त्यतिबेलाको परिस्थिति र परिवेशले काखका छोरा लिएर तिरस्कृत भएर हिड्नुभएको लगाउन सकिन्छ अनुमान । उहाँ एउटा प्रतिनिधिमूलक पात्र हुनुभयो । तर अहिले पनि सैकडौँ नारीहरूले प्रत्यक्ष/अप्रत्यक्ष कुनै न कुनै ढंगबाट बनिरहनु परेको छ विभेदको शिकार । यो स्वीकार्नै पर्छ हामी पुरूष र अगुवा सामाजिक कार्यकर्ताले ।
उहाँहरूको केही क्षणको कुरा सुन्दा वियोग र जीवन संघर्षको कथाले हामीलाई बनायो भावविह्वल । राष्ट्रियता र आफन्तजन प्रतिको समर्पण यहाँ लेख्न र बोल्न नसकिने तर केवल हामी कथा सुन्नेले गयौँ मर्माहत हुने अनुभूति ।
न थर, न ठेगाना ७० वर्ष अगाडि बिछोड भएकी दुई दिदी गंगा–जमुना खोज्न आउनु भएको रहेछ ७५ वर्षीय पदमबहादुर । न थर, न ठेगाना छ, उहाँहरूसँग केवल रहेछ खोटाङको सुङदेलमा विवाह भएको सूचना । रावाखोला आसपास आफन्तजन भएको पनि सुनाउनुभयो अल्पअल्प कुरा । पदमबहादुरको आमा, उहाँ १८ वर्षको हुँदा नहुँदै परमधाम हुनुभएको रहेछ भने दाजु पनि १६ वर्ष पहिल्यै जानु भएको रहेछ मास छर्न । ८५ वर्ष हाराहारी पुग्न लाग्नुभएको २ दिदीको खोजिमा खोटाङको सिमाना जयरामघाटमा भेटभयो हामीसँग २ कार्तिक २०८१ को शनिवार । ओहो !! कस्तो पूण्य कर्म !! यस्ता सद्धर्मी मानिस समेत छन् यो संसारमा । म उहाँहरूको आफन्तजनप्रतिको समर्पणबाट नतमस्तक भएँ अन्तर्मनबाटै ।
हामी कार्की परिवार प्रति सद्भाव व्यक्त गर्दै विदा भयौ त्यहाँबाट । स्कारपियो गाडी भाडामा लिएर ७७ वर्षीय नातेदार डिल्लीप्रसाद निरौला, छोरा रूपेश कार्की, कमल गुरूङ र गाडी चालक बालकृष्ण फुयल सहित ५ जनाको टोलिसँग हिड्नुभएको रहेछ दिदी र उहाँका सन्तान खोज्न । यो महान पवित्र कर्ममा सहयोग त गर्नै पर्छ तर कसरी गर्ने मनमा खुलदुली भयो । म परेँ अक्क न बक्क । मनमा कुरा खेलाउँदै मैले जानकारी लिन सुङदेलका वडा सचिव दिलकुमार श्रेष्ठलाई फोन गरेँ र गंगा–जमुनाको विषयमा बुझेँ । तर उहााँले अनभिज्ञता प्रकट गर्नुभयो । हाम्रै नगरको वडा नं.–२ सोल्मा निवासी दिलकुमार केहीँ वर्षदेखि सरकारी सेवामा कार्यरत हुनुहुन्छ त्यहाँ । पूर्व परिचित भएकोले कुरा फस््र्याउँन सजिलो भयो मलाई ।
आफुबाट असम्भव भएपछि उहाँले नेपाली कांग्रेसका नेता इच्छाबहादुर पौडेलको दिनुभयो सम्पर्क नम्बर । मैले वेलिविस्तार लगाएर सहयोगको अपेक्षा गरेँ इच्छा दाईसँग । मेरो राम्रो सम्बन्ध थियो उहाँसँग करिव २५ वर्षदेखि । ३–४ घण्टाको समय माग्नुभयो बुझ्नको लागि । फोनमा कुरा गर्दै जयरामबाट अघिअघि हामी र उहाँहरू आउनुभयो पछिपछि गाडीमा । दिक्तेल पुग्यौँ ३ घण्टामा । सिधै नगरमा पुगेर मैले उहाँहरूको विषयमा चारै तिर पुनः फोन सम्पर्क गरेँ । आश्वासन आयो इच्छा दाईबाट तर कतैबाट आएन लक्ष्य पुरा हुने विषय । यसै वीच नगरपालिकाको केहीँ महत्वपूर्ण काम सकेर हौंचुर वडाध्यक्ष चिरन्जिवी कार्कीको घर हिड्यौँ । स्कार्पियो गाडी भएकोले सहजै थियो जानलाई ।
जाल्पामा पार्टी वडा सभापति धर्मराज राई र पार्टी जिल्ला सहसचिव साजन राईसग छोटो कुरा गरेर अघि बढ्यौँ कुभिण्डेतर्फ । ओखलढुङ्गाका प्रजिअ नारायण ढकाल उहाँहरूको नातेदार हुनुभएकोले भयो पटकपटक कुराकानी । सहयोगको लागि मलाई गर्नुभयो अनुरोध । ७ वजे साँझ पुग्यौँ गन्तव्य स्थानमा । कार्कीको रवाफ र अतिथि सत्कारमा अब्बल मानिन्छ त्यो घर । पटकपटक पुगेर बसेको छु विगतमा । घरमुली समाजसेवी गजेन्द्र कार्की, रविन्द्र कार्की, वडाध्यक्ष चिरन्जिवी कार्की र बुहारीहरू हुनुहुन्थ्यो घरमा । बहिनी रीता र मित्र प्रदीपसँग भयो फोनमा कुराकानी । दुबै जना भक्तपुर हुनुहुन्थ्यो तर गर्नुभयो हृदयबाटै हौंचुरको आफ्नो घरमा टेलिफोन मार्फत स्वागत । बेलुकी छलफल ग-यौँ । रूपेशजीको आफन्तको विषयमा । तर उहाँहरूले भने अनुसारको कोही आफन्त मानिस नभएको स्पष्ट भयो त्यहाँ । काका गजेन्द्र कार्की सबै थाहा पाउने पुरानो समाजसेवी हुनुभएकोले त्यो गाउँमा थप खोजि गरिरहनु पर्ने थिएन औचित्य । बेलिकीको खाना खाएर आराम गर्यौं १० बजे हाराहारी ।
हौँचुरमा पुराना पार्टीका नेता खगेन्द्र कार्की र जनक कार्की हुनुभएकोले मेरो आग्रहमा विहान ४ बजे नै गयौँ दुबै नेतृत्वलाई भेट्न । विहानै आएको देखेर छक्क पर्नुभयो दुवै जना । जनक दाई पार्टीमा लामो संघर्ष गर्नुभएको नेता । निष्ठावान र स्वाभिमानीको पहिचान छ पार्टीभित्र । तर भूमिका र जिम्मेवारी दिने समयमा छैन कुनै मूल्यांकन । पार्टीले पटकपटक अवसर दियो अरूलाई तर कहिल्यै पर्नु भएन जनकदाई मूल्यांकनको कसीभित्र. !! उहाँको सरलपन, त्याग र निष्ठालाई सम्मान गर्दै विदा भयौँ त्यहाँबाट । सबै साथीहरू भए ठाउँमा निक्लयौँ, र ६ बज्दा नबज्दै बाक्सिला जानलाई हिड्यौँ विदा मागेर हामी कार्की निवासबाट । रूपेशजीले ल्याउनुभएको गाडी बाक्सिला नजाने भएकोले जाल्पामा व्यवस्था गरेका थियाँैं टाटा सुमो ।
जाल्पामा मितज्यू साजन, धर्म दाईसँग बिदा भएर जीवन अधिकारी “मुन्द्रे “ को गाडीमा पुग्यौँं २ घण्टामा बाक्सिला । तरूण नेता अनुप राईको होटलमा बस्यौँ हामी । उताबाट आउनुहुने ७५ वर्षीय पदम कार्कीको घुँडामा समस्या भएकोले थिएन सुङदेल जाने अवस्था । मेरो इच्छा दाई र चिना पौडेलसँग सल्लाह भए अनुसार बाक्सिला आउने सल्लाह भएको थियो त्यहाँ भएका गंगा–जमुनाका
परिवार । २ घण्टा पैदल हिंडेर १२ बजे बाक्सिला आईपुग्नुभयो आफन्तजन ।
भेटपछि पहिल्याउँन थाल्नुभयो नाताको बास्तविकता । आफन्त र लहरो बुझ्दै जादा बास्तविक परिवारका सदस्य वीच ७० वर्ष अन्तरालमा मिलन भएको ठहर भएपछि भयो खुशियालीको कोकोहोलो र रूवावासी । सम्बन्धको फेद र टुप्पो मिलेपछि यो भन्दा खुशी के हुन सक्छ ? त्यो परिवारको लागि । अनुपजीको होटलमा नै आउनुभयो पालिका अध्यक्ष समिर राई, समाजसेवी भक्तजंग राई, शिक्षक रामचन्द्र खत्री र अरू धेरै साथीहरू पनि । त्यहाँ हाम्रो विकास निर्माण, शिक्षा, कृषि लगायतका विषयमा छलफल भयो मिहिन ढंगबाट । पालिका सभापती हेमन्त राईको आमा अस्वस्थ हुनुभएकोले साक्सिला पुगेर स्वास्थ अवस्था बुझेँ मैले । सामान्य भेटपछि बजार फर्किएर पारिवारिक पुनर्मिलनमा सहभागी भएँ म पनि ।
सुङ्देलबाट आउनुभएको थियो गंगाको छोरा टेक बहादुर र श्रीमति, छोरीद्वय सूर्यकुमारी र चिना तथा मलाई त्यो परिवारसँग जोड्ने सम्पर्क सूत्र समाजसेवी इच्छाबहादुर पौडेल । गंगाकी अर्की छोरी चार्कुली उदयपुरको रामपुर बस्ने गरेको जानकारी भयो । त्यसैगरी जमुनाका छोरा भगत झापाको चन्द्रनागी र छोरी लीलामाया अमेरिका बस्दै आउनुभएको एकिन गर्नुभयो मावली कार्की परिवारले ।
७० वर्षपछिको पारिवारिक भेट सकेर विदा भयौँ हामी र फर्कियौँ गन्तव्यतर्फ । त्यो भेट थियो आफैँमा ऐतिहासिक र मर्मस्पर्शी । बाटोमा सप्तेश्वरका शिक्षक ईश्वर राई र दम्पतिलाई भेटेर भर्खरै पुत्रीलाभ भएकोमा बधाई दिंदै पुग्यौँ जाल्पा वडा कार्यालयमा । वडाध्यक्ष दानबहादुर राई, कार्यपालिका सदस्य धनशोभा राईले वडामा रोपेको उसिनेको अग्र्यानिक भटमास खुवाउँदै गर्नुभयो स्वागत । केहीँ समयको भेटघाटपछि विदा भएर हामी अघि बढ्यौँ हुर्लुङतर्फ । उहाँहरू उदयपुर पुग्न हतारिनु भएकोले पनि दिन सकेनौँ लामो समय ।
हुर्लुङमा ४.१० मा विदा भएर म दिक्तेल झरेँ । मुन्द्रेसँग भनेँ उहाँहरू स्कार्पियोमा ७५ वर्षीय पदमबहादुर कार्की, ७७ वर्षीय डिल्ली प्रसाद निरौला, रूपेश क्षेत्री कार्की र आफन्त चिनाएर सम्बन्ध गाढा बनाउँन गंगा दिदीका छोरा टेकबहादुर पौडेललाई समेत सँगै ल्याउनु भएकोले उहाँ समेत साथमा जानुभयो सँगै । अमेरिकाबाट रूपेशजीसँगै आएर परिवार भेटमा योगदान पर्याउने कमल गुरुङ जरूरी कामले विहानै जाल्पाबाट उदयपुर झरिसक्नुभएको थियो जिपमा । गाडी चालक अति मिलनसार मित्र बालकृष्ण फुंयललाई समेत बाईबाई गर्दै विदा गर्यौँ खुशी मनले ।
निष्कर्ष–७० वर्षपछिको भेट आफैंमा अनौठो र अविष्मरणीय रह्यो । न परिकल्पना थियो भेट हुने, न सम्भावना नै । स्पष्ट नाम, थर र ठेगाना विनाको अवस्था । तर गंगा–जमुना त्यो समयको नाम र खोटाङको साँकेतिक ठेगानाबाट यो भेट सम्भव भयो । ७० वर्ष अगाडि छोडिनु भएको दिदीलाई भेट्ने ईच्छा गर्नुहुने पदम र बुबाको ईच्छा पुरा गर्ने स्वधर्मी, पितृभक्त छोरा रूपेश धेरै धन्यवादको पात्र हुनुहुन्छ । यो सत्कर्ममा सहयोग गर्ने सबै प्रियजन धन्यवादको पात्र बन्नुभएको छ । पुनर्मिलनमा मुख्य पात्र गंगा–जमुना ३०–३१ वर्ष अगाडि स्वर्गवास भए पनि यो पारिवारिक भेटबाट मृतकको आत्मा खुशी भएको छ पक्कै पनि । उहाँहरूसँग नियतिले भेट हुन नदिए पनि ७० वर्ष पछि मावली र भान्जाभान्जीको भेट आफैँमा ऐतिहासिक रह्यो । उहाँहरूको सम्बन्ध सधैँ गाढा र चीरस्थायी बनोस्, बनिरहोस–हार्दिक शुभकामना !!!
(नियात्राकार दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखको जिम्मेवारीमा हुनुहुन्छ-सं.)
[ यो पनि-दंगालजीसँगै गाडिमा असारे यात्रा ]
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।