मंसिर १९, २०८१ , Khotang
अन्तर्राष्ट्रिय मुन्दुम चित्रकला कार्यशाला (दिक्तेलबजारमा २०८० असोज १७ देखि २१ गतेसम्म सम्पन्न) पछि अब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रिय बाँस सम्मेलन (२०८१ फागुन १५, १६ र १७) को आयोजना गर्दैछ । राष्ट्रिय बाँस सम्मेलन दिक्तेलमा गर्ने सोँच कसरी बन्यो, यो सम्मेलनको आयोजनाबाट के कस्ता उपलव्धिको आशा गरिएको छ आदि विषयमा केन्द्रित बनेर हलेसी एफएमका तर्फबाट सुनिल श्रेष्ठले नगरप्रमुख तीर्थराज भट्टराईसँग गर्नुभएको कुराकानी )
सुनिल— राष्ट्रिय बाँस सम्मेलन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गर्ने सोँच कसरी बन्यो, जिल्लाबासीलाई यसै माध्यमबाट जानकारी गराइदिनु होस न ।
नगरम्रमुख तीर्थराज भट्टराई—म निर्वाचित हुनासाथ मैले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत निलम न्यौपानेलाई फोन गरेर म आयातित महँगो घुम्ने कुर्सीमा बस्दिनँ । यहाँका स्थानीय मिस्त्रिले बनाएको बाँसको कुर्सीको व्यवस्था गर्न निर्देशन दिएँ । उहाँले दिक्तेलमा बाँसको तयारी कुर्सी नभेटेपछि मेरो आग्रहमा यहीँ बनेको काठको कुर्सीमा बसेँ । ३ महिनापछि कारागारमा रहेका कैदी बन्दीले बनाउनु भएको बाँसको कुर्सी र टेबुल प्रयोग शुरू गरेँ । मेरो प्रस्तावमा उपप्रमुख पनि बाँसको कुर्सीमा बस्न तयार हुनुभयो र हामी दुबै जना बाँसको फर्निचर प्रयोग गरिरहेका छौँ । मेरो उद्देश्य परिवर्तन आफूबाट व्यवहारमा कार्यान्वयन शुरू गरेर मात्रै अरू नागरिकलाई पनि जोड्न सकिन्छ भन्ने हो । मैले बाँसको फर्निचरलाई प्राथमिकता दिँदै प्रयोग शुरूवात गरेपछि मनोवल गिराउने गरी केहीँ रेडिमेड आलोचकले सामाजिक सञ्जालमा कडा आलोचना र टिक्का टिप्पणी गर्नुभयो । यसले मलाई झन सशक्त र कटिबद्ध गरायो । मैले यो अभियानलाई अगाडि बढाएपछि बाँस र यसको विषयमा राष्ट्रिय रूपमा चर्चा भयो । नेपालका स्थापित मिडियाले स्थानीय सामग्रीको प्रयोग र महत्वको विषयमा नगरपालिका र मेरो सकारात्मक समाचारहरु सम्प्रेषण गर्दै भिडियो समेत बनाएपछि दिक्तेल आउने प्रशासक र महत्वपूर्ण व्यक्तित्वहरू कार्यकक्षमा प्रवेश गरेर यहाँको फोटो खिच्नुहुन्छ । यी यावत् गतिविधिले मलाई अझै हौसला मिलेको छ । यस्तै चर्चा परिचर्चाका कारण फिलिपिन्समा बस्नुहुने केपि भट्टराई नेपाल आएपछि बाँस विकासको बारेमा धेरै छलफल भयो । छलफलकै क्रममा बाँसकै सम्मेलन मार्फत सरकारको ध्यान आकृष्ट गर्न सकिन्छ भन्ने अवधारणा बन्यो । शुरूमा दिक्तेलमा बाँस सम्मेलन गर्ने प्रस्ताव र वातावरण निर्माण गर्नुभएकोले केपिजीलाई यसको श्रेय जान्छ । त्यसपछि पूर्व वातावरण मन्त्री गणेश साहज्यूसँग केपिजी मार्फत नै भेट भयो । उहाँको अगुवाइमा केन्द्रिय मूल आयोजक समिति गठन भएपछि दर्जनौँ औपचारिक/अनौपचारिक बैठक र छलफलपछि दिक्तेलमा सम्मेलन गर्ने विषयले मूर्त रुप लिएको हो । गणेश मन्त्रीज्यू र केपिजीकै कारण दिक्तेलमा सम्मेलन गर्ने स्थान तय भयो । मेरो बाँस प्रतिको मोह र प्रयोगबाट दुबै जना प्रभावित हुनुभएको रहेछ शुरूमा ।
सुनिल—यस आगाडि पनि नेपालको कुनै स्थानमा बाँस सम्मेलनको आयोजना भएको थियो कि ?
नगरप्रमुख तीर्थराज भट्टराई—नेपालमा पहिलो पटक बाँस सम्मेलन हुँदैछ । हाम्रो नगरपालिकाको सकृयता र वन अनुसन्धान केन्द्र, बबरमहलका महानिर्देशक डा.राजेन्द्र केसी, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशका सचिव विशाल घिमिरे र ग्रिन बेम्बो क्रिएसन, ललितपुर जो, निजी क्षेत्रमा १८–२० वर्षबाट बाँसको क्षेत्रमा काम गरिरहनुभएको छ, यसका सचालक प्रणव प्रधान लगायतको टिम अति उत्साहकासाथ लाग्नुभएको छ । यसले मलाई हौस्याएको छ । विभिन्न विश्व विद्यालयका बाँस प्रा.डा., खोज अनुसन्धानकर्ता, राष्ट्रिय÷अन्तराष्ट्रिय गैह्रसरकारी संस्था, अन्य बाँसप्रेमी व्यक्तित्वहरूको चासो, लगाव र योगदान गर्ने प्रतिवद्धताले यो सम्मेलन सभ्य, भव्य र ऐतिहासिक हुन्छ भन्नेमा म विश्वस्त छु
सुनिल—राष्ट्रिय बाँस सम्मेलन भने पछि यो जिल्लाको दायराभन्दा पनि राष्ट्रव्यापि आयोजनाको रुपमा सम्पन्न हुने कार्ययोजना रहेको पाइन्छ । यसका लागि के कस्तो तयारी भैरहेको छ बताइदिनुहोस न ।
नगरम्रमुख तीर्थराज भट्टराई—हजुर हो यो सम्मेलन नेपालमा नै पहिलो पटक त्यसमा पनि दिक्तेलमा नै हुदैछ । संघीय तथा कोशी प्रदेशको वन मन्त्रालय, नीजि क्षेत्र तथा वन, वातावरण र पर्यायवरणको क्षेत्रमा काम गर्ने सबै निकायले अति चासो र महत्वकासाथ यो सम्मेलनलाई सफल पार्न लाग्नु हामी खोटाङ, दिक्तेलवासीको लागि अति गौरवको विषय हो । बाँसका विषयमा राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा अध्ययन–अनुसन्धान गर्नु भएका विज्ञहरूले बाँसको प्रयोग र महत्वका विषयमा ९ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका बनाउने प्रयत्न हुँदैछ । सम्मेलन समापन गर्दा दिक्तेल घोषणा-पत्र सार्वजनिक हुन्छ । कस्तो र कति बुँदे गर्ने भन्ने विषयमा हामी माघ पहिलो हप्ता भित्र टुंगो गरिसक्छौँ सुनिलजी ।
सुनिल—राष्ट्रिय बाँस सम्मेलनको आयोजनाले के कस्तो उपलव्धि प्राप्त होला भन्ने अपेक्षा गर्न सकिन्छ ? नगरपालिकाले कस्तो अपेक्षा राखेको छ बताइदिनुहोस न ।
नगरम्रमुख तीर्थराज भट्टराई —बाँस सम्मेलनबाट सस्तो मूल्यमा नगन्य रूपमा विक्री हुँदै आएका बाँसलाई प्रशोधन गरेर बेच्ने वातावरण बन्यो भने पनि कृषकलाई प्रत्यक्ष लाभ हुन्छ । हाम्रो गाउँ पाखामा भएका बाँसलाई फर्निचर, विद्यालय भवन, घर आदि काममा प्रशोधन गरेर प्रयोग गरे सस्तो, पर्यायवणमैत्री, सुरक्षित र भुकम्प प्रतिरोधक हुनेथिए । नागरिकले आफ्नै आँगनको बाँसबाट प्रयोग गरेर बनाएको संरचना सुरक्षित र भरपर्दो हुन्छ भन्ने प्रविधि र विश्वास दिलाउँन सफलता मिल्नेछ भन्ने मलाई विश्वास लागेको छ । यो विश्वास दिलाउँन सके नगरको लागि मात्र होईन देशकै लागि निकै ठूलो उपलब्धि हुनेछ । नागरिकलाई आश्वस्त र विश्वस्त पार्दै आफ्नै पाखा पखेराबाट बनाएको संरचना ४०–५० वर्ष टिके किन महँगो मूल्यमा अनावश्यक ढुगा, सिमेन्ट र रडमा खर्च गरेर पैसा फसाउने ? नागरिकको उन्नयन र बाँसको विकास मेरो सपना हो । सबै धर्म र सम्प्रदायको जन्मदेखि मृत्युसम्म यसको प्रयोग हुन्छ । हलो र जुवा बाहेक बाँसबाट सबै चिज बनाउन सकिन्छ । छिटो बढ्ने र परिपक्व हुने बाँसभन्दा हाम्रो लागि आर्थिक उनन्यनको अरू विकल्प हुनै सक्दैन । नेपालकै इतिहासमा पहिलोपटक बाँसको राष्ट्रिय सम्मेलन दिक्तेल नगरीमा गर्न पाउदा गर्व लागेको छ ।
सुनिल—बाँस सम्मेलनमा प्रत्यक्ष सहभागिता जनाउन चाहनेहरुलाई नगरपालिकाको तर्फबाट के-कस्तो प्रकृया छन् जानकारी गराइदिनुहुन्थ्यो कि ?
नगरम्रमुख तीर्थराज भट्टराई—३ वटा सरकारी निकाय र ग्रिन बेम्बो नीजि क्षेत्र गरेर ४ वटा आधिकारिक संस्थाको नेतृत्वमा यो सम्मेलन आयोजना हुँदैछ । पूर्वमन्त्री गणेश साहज्यूको नेतृत्वमा रहेको मूल आयोजक समिति र सचिवालयले मिहिन ढंगबाट अध्ययन, विज्ञसँगको परामर्श र दीर्घकालिन सोँचका साथ प्रक्रिया र अवधारणा बनाइदैछ । हामी छिट्टै नै पत्रकार सम्मेलन गरेर यसको खाका औपचारिक रूपमा सार्वजनिक गर्नेछौँ । हाम्रो ज्यादा चिन्ता र चासो कृषकलाई कसरी लाभान्वित गराउन सकिन्छ भन्ने विषयमा सम्मेलनलाई केन्द्रित गर्ने भन्नेछ ।
सुनिल—नगरपालिकामा समय समयमा बाँसका सामाग्रीहरु निर्माण गर्ने तालिमहरु सञ्चालन भएका छन् । हाल नगरपालिकाका कुन कुन वडाहरुमा बाँस उध्योगहरु सञ्चालनमा छन् यसको कुनै तथ्यांक राखिएको छ वा छैन ?
नगरम्रमुख तीर्थराज भट्टराई —दोर्पा, बाम्राङ, बुइपा लगायतका ठाउँमा बाँसको तालिम भयो तर कतिपय तालिम औपचारिकतामा मात्रै हुन्छन् प्रतिफल आउदैन । छातिमा हात राखेर भन्दा त्यस्तै गरिन्छ र देखिन्छ पनि । गुणस्तरीय उत्पादन नहुने र भएका पनि विक्री नहुने समस्या छ । त्यसैले नुनथला लगायतका ठाउँमा स्वतःस्फुर्त रूपमा व्यस्थापन भए पनि अन्यत्र अहिले उद्योगको रूपमा स्थापना भएका छैनन् । तर बाँसको सीप भएका मानिसको पहिचान गर्ने गरी नगरबाट भर्खरै निर्णय गरेर वडामा परिपत्र गरेका छौँ । रोजगारी र आय आर्जनसँग युवालाई जोड्नका लागि सम्मेलन सम्बन्धि हरेक छलफलमा मैले जोड दिई रहेको छु । हामी छिट्टै नै वडा नं. ६ नेर्पामा चाँगुनारायण फाउन्डेसन , भक्तपुर र हाम्रो नगरपालिकाको संयुक्त लगानीमा हामी बाँसको आवासीय तालिम गर्ने अन्तिम तयारीमा छौँ ।
सुनिल—बाँस सम्मलेन आयोजनाका लागि नगरपालिकाको तर्फबाट के कति आर्थिक व्ययभार जुटाउनुपर्ला भन्ने आँकलन गरिएको छ ?
नगरम्रमुख तीर्थराज भट्टराई — हामीले बाँस सम्मेलनका लागि नगरपालिकाको तर्फबाट जम्मा रु.५ लाख बजेट विनियोजन गरेका छौँ । रु.४३–४७ लाख बजेट खर्च हुने अनुमान गरिएको छ । यसको प्रवन्धका लागि काठमाडौमा मूल आयोजक समितिका पदाधिकारी सकृय ढंगबाट लागि रहनु भएको छ । सबै दाताले आश्वस्त र विश्वस्त पार्नुभएको छ । नगरको तर्फबाट उपप्रमुख वीसन राई र अधिकृत ओजोनबाबु आचार्य पनि यहीँ काममा खटिरहनु भएको छ । पक्कै पनि सबैको सहभागिता र सहकार्यमा बजेट व्यवस्थापन हुनेछ । कथं कदाचित हामीले सोँचे अनुसारको बजेट व्यवस्थापन नभए कार्यक्रमको मोडालिटी परिवर्तन गर्नेर्छौं र भव्यता पूर्वक सम्मेलन सफल बनाउनेछौँ ।
सुनिल—सम्मेलनको विषयमा अरू केहीँ छुटेको छ कि ?
नगरम्रमुख तीर्थराज भट्टराई — सुनिलजी धेरै विषय आई सकेका छन् । यहाँ पनि एक चरण सबै सरोकारवाला पक्षसग बसेर छलफल गरिसक्यौं । अब छिट्टै नै राजनीतिक दलसँग हामी छलफल गर्नेछौँ र राजनीतिक दलको विश्वास र समर्थन लिएर हामी थप कार्ययोजना बनाउनेछौ । सरकारी निकाय र सरोकारवाला निकायसँग निरन्तर छलफल गरेर सम्भावित २५० हाराहारी आगन्तुक अतिथिलाई स्वागत, सत्कार र व्यवस्थापन नयाँ शैली र आकर्षक ढँगबाट गर्ने सोचेमा छौँ ।
सुनिल—मेयरसाव, खोटाङको दिक्तेल नगरीमा हुन लागिरहेको नेपालकै पहिलो राष्ट्रिय बाँस सममेलका बारेमा धेरै विषयहरुको जानकारी दिनुभएकोमा एफएम परिवारको तर्फबाट आभार व्यक्त गर्दै धन्यवाद प्रकट गर्दछौँ ।
नगरम्रमुख तीर्थराज भट्टराई —यो अवसर दिनुभएकोमा लोकप्रीय हलेसी एफएमको अनलाइन www.halesifm.com.np र प्रस्तोता तपाई सुनिलजीलाई नगरको तर्फबाट हार्दिक धन्यवाद ।
नगरपालिका कार्यालय परिसरमा बाँसबाट निर्मित स्तनपान कक्ष
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।