जलवायु परिवर्तनः वैज्ञानिक यथार्थ, प्रभाव, चुनौती र अनुकूलनका उपायहरू
----------लोकनाथ घिमिरे
भूमिकाः
कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई नै जलवायु भनिन्छ । जब त्यही जलवायुको अवस्थामा दीर्घकालीन परिवर्तन आउँदछ, त्यसलाई नै जलवायु परिवर्तन भनिन्छ । यो वर्षा, तापक्रम, आद्रता, वायुको गति आदिजस्ता जलवायुजन्य उपागमहरुमा आउने दीर्घकालीन तथा प्रतिकुल अवस्थाको परिवर्तन हो । अहिले विश्वको जलवायुमा जुन तीव्र परिवर्तन देखिइरहेको छ त्यो मानिसले आफ्नो घर, कारखाना तथा परिवहनका लागि प्रयोग गरिएको पेट्रोलियम, ग्यास तथा कोइलाको उपयोगका क्रममा उत्सर्जित हरितगृह ग्यासका कारण भएको हो । जब यी जिवाश्म इन्धनहरू दहन हुन्छन् तब त्यसबाट हरितगृह ग्यासहरु निस्किन्छन, जसमा सबैभन्दा ठूलो हिस्सा कार्वनडाइ अक्साइडको रहेको हुन्छ । यी ग्यासहरुका कारण विश्वको तापक्रममा बढोत्तरी हुने मात्र होइन पृथ्वीको सुरक्षा कवचको रुपमा रहेको ओजोन तहमा पनि क्षति पु¥याउँदछन् । ओजोनको पत्रमा प्वाल पर्दा सूर्यको परावैजनी किरणसहित अत्यधिक तापक्रम पृथ्वीमा आउँदछ, जसले पृथ्वीमा तापक्रम बढाउने काम गर्दछ । यद्यपि तापक्रम वृद्धिको मूख्य कारण चाहिँ हरितगृह ग्यासका कारण सिर्जित हरिगृह प्रभाव नै हो । बढ्दो तापमानका कारण हिमनदीको हिउँ तीव्र रुपमा पग्लिरहेको छ भने समुद्रको जलस्तर पनि बढिरहेको छ ।
जलवायु परिवर्तनका प्रभावहरूः
विश्वमा प्रतिकूल मौसमी घटनाहरु पहिलेभन्दा तीव्र बनिरहेका छन् जसबाट जीवन तथा जीविकोपार्जन माथि नै गम्भीर खतरा पैदा हुदै गएको छ । पृथ्वीमा तीव्र रुपमा तापक्रम बढ्नाले धेरै क्षेत्रहरु मरुभूमिमा परिणत हुनेछन् । पूर्वि अफ्रिकामा लगातार पाँचौ वर्ष सम्म पनि वर्षाभएन । लगातारको सुख्खा खडेरी, अनावृष्टिका कारण पूर्वि अफ्रिकाका २ करोड २० लाख मानिसहरू भोकमरीको खतरामा परेको संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले जनाएको छ । अत्यधिक तापक्रमले डढेलोको प्रकोप बढाइरहेको छ, गत वर्षको गृष्मयाममा युरोपमा इतिहासकै भयानक डढेलोको प्रकोप देखिएको थियो । फ्रान्स तथा जर्मनीमा यसअघिको औसतको तुलनामा सन् २०२२ को जनवरी तथा जुलाई महिनाको बीचमा झण्डै ७ गुणा बढी क्षेत्रमा डढेलो लागेको थियो । गर्मि बढ्नुुको अर्थ ध्रुवीय क्षेत्र तथा उच्च हिमाली क्षेत्रहरुमा जमेको बरफ तीव्र रुपमा पग्लिनु र समुद्रको जलस्तर बढ्नु पनि हो । अधिकांस मुलुकहरुले अतिवृष्टिको कारण इतिहासकै भयानक वर्षाद, बाढी पहिरोको सामना गर्नु परेको छ । वर्षा आफैँमा प्रकृतिको उपहार हो, तर जलवायु परिवर्तनको प्रभावले गर्दा यसको ढाँचा, मात्रा र समयअनुसारको परिवर्तनले नयाँ चुनौतीहरू सृजना भई रहेका छन । जलवायु परिवर्तनसँग जुध्न विश्वभर अनुकूलनका विभिन्न उपायहरू अवलम्बन गरिएका छन, तर ती उपायहरूले कहिलेकाहीँ थप समस्या पनि ल्याइरहेका छन । विशेष गरी वर्षाको समयसँगै ती समस्याहरू झनै सतहमा देखिन थालेका छन भने जनजीवन अस्त व्यस्त हुने गरेको छ । चरम मौसम र हिउँ तिब्र पग्लिनु त्यसका केही असरहरू हुन । कुनै स्थान विशेषमा हुने मौसमी अवस्थाको धेरै वर्षहरूको औसत स्थिति त्यहाँको जलवायु हो । जलवायु परिवर्तन भनेको त्यस्तो औसत अवस्थामा देखिने परिवर्तन हो । विश्वभरि तापक्रम बढिरहेका कारण पृथ्वी अहिले द्रुत जलवायु परिवर्तनको अवस्थामा छ । हरितगृह ग्यासको प्रमुख कारकको रूपमा देखिएको कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ । धनी र औद्योगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई खप्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको छ ।
जलवायु परिवर्तनका असरहरु
जलवायु परिवर्तनको मूलकारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालय लगायत मानव जीवन, सामाजिक (आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खा पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ । हिमनदी विश्व तापमान बृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक हुन । तिनीहरूको आकार हिमपात र त्यसको पग्लिने क्रमको अनुपातमा निर्भर गर्दछ । साविकको समय भन्दा पहिले विरुवामा फूल्ने, फल्ने, पाक्ने र चराले चाँडै अण्डा पार्ने गरेको पाइएको छ । यसले गर्दा पंक्षी तथा अन्य जनावरको खाद्य चक्रमा समेत असन्तुलन हुनगई सिङ्गो पारिस्थितिक प्रणालीमा नै खलल हुने सम्भावना बढ्दै गएको पाईन्छ । उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टेजस्ता रोगबाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको पाइन्छ । तराईमा अत्यधिक गर्मि बढ्ने र हिमाली क्षेत्रमा समेत तापक्रम बढेर हिउँ पग्लने क्रम तव्रि रुपमा विस्तार हुँदै गएको देखिन्छ । तराईमा पाईने विषालु सर्पहरु पहाड तीर सर्न थालेका पाईन्छ । यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिकको सुरक्षा चुनौती, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुनगई व्यापक वसाई सराई सुरुआत भइसकेको छ । वर्षादको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू–क्षय र खडेरीजस्ता प्रकोपका घटनाहरु तिव्र रुपमा बढ्दै गएका छन् पहाडी भागमा व्यापक बाढीपहिरो जानुका साथै स–साना खोल्सा, मूल, कुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन । तराई भागमा भूमिगत पानीको सतह घट्नुका साथै जमिन भासिने समस्या पनि देखिन थालेको छ । यसैगरी तापक्रमको वृद्धिसँगै झिंगा तथा लामखुट्टेको बृद्धि भई मलेरिया, ज्वरो, डेङ्गु, इन्सेफलाईटिस जस्ता सरुवा रोगको प्रकोप दिनानुदिन बढ्दै गएको पाईन्छ । तापक्रमका साथै वर्षादको समय, मात्रा र अवधिमा आएको परिवर्तनका कारणले कृषि उत्पादन र खाद्य सुरक्षामा थप नकरात्मक प्रभाव देखिन थालेको छ भने जलवायुको परिवर्तित अबस्था अनुसार खेतीपातीमा सुधार गर्ने सीप र दक्षताको अभावका कारण कृषक थप मारमा परेको देखिन्छ ।
नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ । यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो । त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ । हिमतालको निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टड्कारो प्रभाव हो भन्न सकिन्छ । ०८१ साउन ३२ गते सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको र हिम पहिरोले ५ वटा घर र एउटा होस्टल जोखिममा पारेको थियो । त्यसै गरी गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोले नेपालमा २ सय ४४ जनाको ज्यान लिएको थियो भने नेपालका कुल ५८ जिल्ला वर्षाबाट प्रभावित भएका थिए । धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोलामा पहिरोमा ३ वटा गाडी पुरिँदा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । वर्षाका कारण आएको पहिरोले काठमाडौं जोड्ने प्रमुख राजमार्गलगयात देशका अन्य सडकहरूसमेत अवरुद्ध बनेका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको बाढी (पहिरोको प्रारम्भिक) हानि तथा क्षति मूल्यांकनबाट ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार ५ सय ५० रुपैयाँ बराबर क्षति भएको देखिएको हो । प्राधिकरणले भौतिक पूर्वाधार, निजी आवास, विद्यालय, अस्पताल, कृषि तथा पशुपन्छी र सिँचाइमा उक्त रकम बराबर आर्थिक क्षति भएको अनुमान गरेको विवरण शार्वजनिक गरेको थियो । उक्त घटनामा १ सय ७७ घाइते भएका थिए । असोज १२ गते केही मौसम स्टेशनहरूले ३२० मिलिमिटर भन्दा बढी वर्षा मापन गरेका थिए, जुन लन्डनको कुल वार्षिक वर्षाको आधा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो । बाढी, पहिरो र डुबानले अबौं रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । बाढी तथा पहिरोले सबैभन्दा बढी असर काठमाडौं उपत्यका र वरपरका जिल्लामा गरेको थियो ।
सन् १९९० देखि २०२० को बीचमा काठमाडौं उपत्यकामा सहरीकरण ३८६ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ । सन् १९८९ देखि २०१९ सम्म काठमाडौं उपत्यकामा भएको वन क्षेत्र २८ प्रतिशतले खुम्चिएको छ, जसले गर्दा प्राकृतिक जलप्रक्रियामा बाधा पु¥याएको जनाइएको छ । २०७२ सालको गोर्खा केन्द्र बिन्दु भएको भूकम्पले पहाड र ढल निकासको पूर्वाधारलाई कमजोर बनाएको अध्ययनको क्रममा देखिएको छ । कोभिड–१९ महामारीले निम्न र मध्यम वर्गका व्यक्तिहरूको आयमा असर गर्दा बाढी तथा पहिरोको जोखिम न्यूनीकरण गर्न झन समस्या देखिएको छ । जलवायु परिवर्तनले गरीबीलाई अझ जोखिममा पार्नुका साथै सीमान्तकृत, लोपोन्मुख एवं जोखिममा परेका समूहलाई अझ बढी समस्यामा पारेको छ ।
जलवायु परिवर्तनलाई कसरी कम गर्न सकिन्छ ?
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्नका लागि बहृत् रूपमा वृक्षारोपणको अभियान चलाउनुपर्छ । प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख रोप्न तथा सडकको दायाँ (बायाँका किनारामा वृक्षारोपण गर्नुपर्छ । त्यसरी वृक्षारेपण गर्नेहो भने मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ । हाम्रो मुलुकमा रहेका हिमशृङ्खला पग्लिने वा क्षय हुने क्रमसँगै पर्वतारोहणका कारण ती शृङ्खलामा फोहोरमैला र प्रदूषण बढेको छ । यसलाई हामीले व्यवस्थित गर्नुपर्छ । चुरे पर्वत शृङ्खलामा भइरहेको क्षयीकरणले हाम्रो भू–सन्तुलनमा नै समस्या खडा गर्ने देखिन्छ । देशभरि नै वातावरण मैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्दछ र सम्पूर्ण उद्योगलाई कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनुपर्दछ । यसैगरी विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षालाई पाठ्यक्रमा समावेश गरी अद्यावधिक गर्नु पर्दछ । विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रमवृद्धिका कारण वातावरणमा क्रमशः बहुआयामिक असर देखा परिरहेका छन । सन् २००७ को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९ मा जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्याङ्कलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको, वर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउँमा यसका असर देखा परेको कुरा वैज्ञानिक रूपमा पुष्टि गरेको छ, भने भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिति भयावह हुने कुरालाई इङ्गित गरेको छ । तसर्थ हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा साझा प्रयासको खाँचो टड्कारो देखिएको छ । अतः संघ, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रुपमा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र अनुकूलनका नीति तथा कार्यक्रममा प्रभावकारी कार्यान्वयन गर्न विकास आयोजनाहरु विकासमैत्री हैन वातावरमैत्री बनाउन र व्यापक जनचेतना मुलक कार्यक्रम संचालन गर्न आवश्यक देखिन्छ ।