सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

हलेसी एफएम

असाड १२, २०८०, Khotang

Image

वर्षादसँगै विकास लुक्ने वर्तमान भोगाई / यसको पटाक्षेप के अब सम्भव छ ?

 

हलेसीन्युजडेस्क, खोटाङ /

जब वर्षाद सिद्धिन्छ, शरद ऋतुले धरतिमा पाइलो टेक्छ, मन–मौसम रमाउन थाल्छ । हरियालीपूर्ण धरति सफा र चिटिक्क देखिन्छ । नजिकै दशैँ र तिहारको सुदुर संकेतले अझ नेपालीहरुको अन्तर–मनमा नजानिदो खुशीका तरंगहरु दौडिन थाल्छन् । 

किसानहरुको खेतवारीमा अन्न–बालिका वोट–झाङहरु लहराउन थाल्छन् । गाउँपाखामा डोजर कुदाएर बनाएका विकासे सडकहरुमा चार पाङ्ग्रे, दुईपाङ्ग्रे साधनहरु गुड्न सहज हुन्छ । त्यतिखेर लाग्छ, विकासले गाउँ लछप्पै बनाएको छ । वल्लो गाउँ, पल्लो गाउँ –त्यो मात्र होइन, जिल्लाका वल्लो सिमादेखि पल्लो सिमाका साथीसँगी, नरताहरुहरुसँग भेट्न पनि २, ३ घण्टाको यात्राले सम्भव गराइदिन्छ । नेताहरु खुशी हुन्छन्, यो तरकिव उनीहरुकै वलवुताले सम्भव भएको हो ।  आफ्नो कार्यक्रममा जनताकावीच भाषण गर्न सजिलो हुन्छ, कार्यकर्ताहरु थपडी बजाउछन् ।

समय धड्किन्छ, शरद, हेमन्त, शिसिर ऋतुहरु नेताकै पक्षमा आफ्ना चक्र गुडाउँछन् ।  अब बशन्त ऋतुले धरतिमा पाइला टेक्छ, शिसिरमा उजाडिएका पतझड–वृक्षहरुमा नव–पल्लवीले संसार चियाउन थाल्छ । धरतिको लामो प्यास मेटाउन प्रकृति आतुर हुन्छ । तर यता नेताहरुको चेहरामा भने तनावका पातला रेखाहरु कोरिन थाल्छन् र जव गृष्म हुँदै वर्षा ऋतुको तान्डव नृत्य मजाले प्रदर्शन हुन थाल्छ, गडगडाएर खोलावाढी जन–जनमा त्रास फिजाउदै, वस्ति वस्ति धावा बोल्दै उर्लिन थाल्छन् । अब भने नेताको पनि राम्ररी हुर्मत लिन थाल्छ–प्रकृतिले । विकासका नाममा कोरिएका सबैजसो हिउँदे सडकहरु पखालिएर खोली–खहरेमा रुपान्तरित हुन पुग्छन् । वल्लो गाउँ पल्लो गाउँ  होइन, वल्लो घर पल्लो घर जाने सडकहरु दुर्लंघ्यताका जोखिमी धराप बनेर तर्साउन थाल्छन् । अनि जनताहरु धारे हात लाएर नेताहरुलाई गालि गर्न थाल्छन्– ‘‘जुन जोगी आए’नि कानै चिरेका ।’’

सञ्चार माध्यमहरुले भँगेरे अक्षरमा नेतृत्वहरुप्रति कटाक्ष लेख्न थाल्छन् । मानौ विकासका सम्पूर्ण मापन तिनै हिउदे सडकले गरिरहेका होउन् । यस्तो वेला शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका लामा लामा फेहरिस्तमा बोलिने विकासका सूचकहरु (Indicatores)मेमोरी चिप्सबाट डिलिट हुन पुग्छन् ।

यो वास्तविकता हरेक साल, हरेक वर्ष नियमित आकस्मिकता बनेर दोहोरिरहेका हुन्छन् । वर्षादसँगै विकास लुक्ने वर्तमान भोगाइका रुपमा सबैको तितो यथार्थ हो यो । यस वर्ष पनि सबै स्थानीय तहहरुमा सडकको अवस्था त्यही छ । नेताहरुप्रति जनताको वितृष्णा पोखिँदो छ । ज्याद्रै बनेर नेताहरु विकासका प्रति आफ्नो भैरहेको प्रयास र प्रयत्न सामाजिक सञ्जालमा रङाउन त खोज्छन्, तर प्रतिकृया ठीक उल्टो पढ्न पाइन्छ । अब के यो दुर्नियतिको कथा आगामी वर्ष नदोहोरिएला त ? आउँदो वर्ष मध्य वर्षादको सिजनमा पनि चाहेको स्थानमा निर्वाध ढंगबाट हिउदमा जसरी यातायातका साधान उपयोग गरेर आवागमन गर्न  सकिन्छ ? कस्तो छ आगामी वर्षको वजेट र कार्यक्रम ?

सडक स्तरोन्नतिकै प्रसंगलाई महत्व दिएर खोटाङ जिल्लाका स्थानीय सरकारहरुले आगामी वर्षको वजेट तथा कार्यक्रम बनाउदा के कसरी बनाएका छन् संक्षिप्त चर्चा गर्नु यो आलेखको ध्येय हो । 
आगामी आर्थिक वर्षका लागि तिनै तहका सरकारहरुले नीति तथा कार्यक्रमका अलावा वार्षिक वजेट प्रस्तुत गरिसकेका छन् । स्थानीय सरकारहरुले पनि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसारले दिएको समय सिमा अनुसार आषाढ १० गतेभित्र आफ्नो वार्षिक कार्यक्रमका साथ वजेट प्रस्तुत गरिसकेका छन् । ती वजेट र कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु आगामी वर्षमा हिउद वर्षामै सडक यातायात सहज र जोखिम रहित बनाउन के कस्ता कार्यक्रम र वजेट ल्याउन संवेदनशिल रहे ? परम्परागत वजेटको नर्म्सलाई नै सिरानी बनाएर कर्मकाण्डी कार्यक्रममै सिमित हुन पुगे या सडक स्तरोन्नतिका लागि थप केही नीति, कार्यक्रम र वजेटको जोहो गर्न उत्साह देखाए ! यसको संक्षिप्त चर्चा नै यो आलेखको अन्तर्य हो ।

दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका

खोटाङ जिल्लाको सदरमुकाम रहेको र जिल्लाकै ठूलो र वढी वडा समेटिएको नगरपालिका हो –दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका । जिल्लाको समग्र विकासको प्रतिच्छाँया यही नगरपालिकाको तस्विरबाट लिने कोसिस गरिन्छ । तर सडक सञ्जालको दुर्दसा भने तुलना गरिसक्नु छैन । वर्षा लागेपछि सदरमुकाम जोडिएका वडाहरुमा जान पनि सकस हुन्छ । सदरमुकामभित्रै पनि सहजताका साथ वारपार गर्न कठिन बन्छ । स्थानीय तहको दोश्रो निर्वाचन पछि विगत एक वर्षको समयावधिलाई हल्का समक्षिा गर्ने हो भने पनि जनप्रतिनिधिहरुले सालेनी वटुवाले भोग्नुपर्ने यो समस्याप्रति गम्भिर ध्यान दिन नसकेकै हो कि जस्तो लाग्छ, तर साताव्यापी जनश्रमदानको अभ्यास पनि भएकै हो । जनश्रमदान पनि सडकको स्तरोन्नतिमै केन्द्रित रहनुले सडकको दुर्दशालाई जनप्रतिनिधिहरुले नजरअन्दाज गरेका छन् भनि हाल्ने ठाउँ भने छैन । यध्यपि जेष्ठ २८ गते अपरान्हदेखि एकदिन परेको भिषण वर्षादले सदरमुकाम आसपासका कच्चि सडकहरुको भने हुर्मत लिइछाड्यो । यतिखेर ग्रामिण सडकहरुको अवस्था नाजुक छ ।
 

    

चर्चा गरौँ, अब आगामी वर्ष यस्ता तत्काल प्रतिकृया दिइने शिर्षक र योजनामा नगरपालिकाले गत आषाढ ९ गते प्रस्तुत गरेको वजेट र कार्यक्रममा कस्तो व्यवस्था गर्यो ।

आगामी वर्ष २०८० / ०८१ को वार्षिक वजेट रु.९८ करोड ६ लाख ५७ हजार प्रस्तुत भएको छ । उक्त वजेट भित्र नगरपालिकाले राखेको लक्ष्य र उद्धेश्य अन्तर्गत विभिन्न शिर्षकमा कार्यक्रमको खाका बनाई वजेट व्यवस्थापन गरिएको प्रति यहाँ चर्चा गरिन्न । भौतिक पूर्वाधार अन्तर्गत कस्तो व्यवस्था छ, त्यसलाई सानो चर्चा गरिन्छ ।

नगरक्षेत्रभित्रका सडकहरुमा बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडकको स्तरोन्नति कार्यलाई प्राथमिकता दिइने उल्लेख छ ।  यसरी स्पष्ट रुपमा वजेट बक्तव्यमा उल्लेख गरिनुले नगरवासीमा आशा जगाएको छ । यो कवूललाई मार्गदर्शनका रुपमा लिएर नगरपालिका र सो मातहत वडा समितिहरुले आउने आर्थिक वर्ष प्रारम्भ हुने साथ कार्यक्रम तालिका बनाएर सडकको दिगो पनलाई ध्यानमा राखी वजेट कार्यान्वयन गर्न सक्नुपर्छ । त्यस्तै अर्को बुँदामा नगरभित्रका मुख्य कच्चि सडकहरु बाह्रै महिना संचालन हुने गरी स्तरोन्नति गर्नका लागि रोलर खरिदका लागि आवश्यक वजेटको व्यवस्था गरिने भनिएको छ । 
दिक्तेल नगरपालिकाले समग्रमा आगामी वर्ष गम्भिरताका साथ विगत र वर्तमान अवस्थामा भन्दा आन्तरिक सडकको गुणस्तरियतामा सुधार गर्ने विश्वास गरौँ । किटानी गरेर कुनै पनि सडक स्तरोन्नतिका लागि वजेटको उल्लेख नगरिएको हँदा शव्दमा मात्र सिमित नहोस भन्ने शुभकामना दिन सकिन्छ ।

हलेसीतुवाचुङ नगरपालिका

खोटाङ जिल्लाको दोश्रो ठूलो पालिका हो–हलेसीतुवाचुङ नगरपालिका । यहाँ ११ वटा वडाहरु समेटिएका छन् । प्रसिद्ध त्रिधार्मिक तपोभूमि (हलेसी, तायचुङजायजुम, मारातिका गुम्वा) अवस्थित हलेसीतुवाचुङ धार्मिक पर्यटकीय स्थलका रुपमा खोटाङको प्राकृतिक वरदान पनि हो ।

  

यो नगरपालिकाले आगामी वर्षका लागि कूल वजेट.रु. ७७ करोड ६४ लाख ८९ हजार प्रस्तुत गरेको छ । विभिन्न शिर्षकहरुमा विनियोजत वजेटको चर्चालाई थाँती राखेर पूर्वाधार विकास अन्तर्गत सडक पूर्वाधारकै प्रसंग कोट्याउने हो भने हलेसीतुवाचुङ नगरपालिकाले शुक्ष्म रुपमा सडक स्तरोन्नतिलाई किटान गरेको छ । यसरी हेर्दा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका भन्दा हलेसी तुवाचुङ सडक स्तरोन्नतिमा गम्भिर कार्यक्रमका साथ उभिएको देखिन्छ । यध्यपि मैदानमा कार्यान्वयन कसरी हुन्छ आर्थिक वर्ष प्रारम्भ भएको पहिलो मासिक अध्ययन अनुगमनबाट पहिचान हुन शुरु हुनेछ । 
हलेसीतुवाचुङले सडकका पहुँचभन्दा वाहिर रहेकाहरुलाई पनि आगामी वर्षमा सडक सञ्जालमा समेट्ने कवूललाई पहिलो बुँदामा राखेको छ । 

अन्तरवडा, अन्तरपालिका र अन्तरजिल्लालाई जोड्ने रणनीतिक सडकहरुको निर्माण र स्तरोन्नति, दुधकोशी–सुनकोशी करिडर, नगर रिङ रोड, हलेसी–धितुङ–हातिहाल–भाडवेशी– रेग्मीटार सडक स्तरोन्नतिलाई किटान गरिएको छ ।

त्यस्तै दुर्छिम–छापडाँडा–बतासेघाट–लिम्चिङवुङ जोड्ने सडक स्तरोन्नति, हलेसी–डाँडागुठ–महादेववेशी सडक स्तरोन्नति, सालचौतारा–ओफ्लाङ–राइघाट सडक निर्माण कार्य सम्पन्न गरी स्तरोन्नतिको समेत कुरालाई जोड दिइएको छ ।

च्यास्मीटार–सालचौतारा–कुर्लेघाट सडक निर्माण कार्यलाई गति दिने, जयरामघाट–गोपिटार–खर्क–कुर्ले सडक निर्माणको प्रसंग राखिएको छ । हलेसी–दुर्छिम–मंगलटार–घोपाटार सडकको स्तरोन्नति, अर्खौले–सल्ले–महादेववेशी सडक स्तरोन्नति, मन्दिरडाँडा–बडहरे–घोपाटार सडक स्तरोन्नति, राजापानी–धितुङ–हलेसी सडक स्तरोन्नति, अर्खौले–नवलपूर–शिखरकटेरी सडक स्तरोन्नति, होलेसुङ पार्क–नगरपालिका हुदै रकगार्डेन सडक स्तरोन्नति, अर्खौले–गुप्तेश्वर सडक स्तरोन्नति गरिने उल्लेख छ । यसरी हेर्दा हलेसीतुवाचुङ नगरपालिकाले नयाँ सडक निर्माण भन्दा भैरहेकै कच्चि सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको पाइन्छ ।

आशा गरौँ, यी कवूलहरु पूरा भएमा नगरवासीले आगामी वर्षमा ज्यान धरापमा राखेर नगरभित्र यातायात गर्नुपर्ने छैन । 

ऐसेलुखर्क गाउँपालिका

 

खोटाङको सुदुर उत्तरी क्षेत्रमा अवस्थित गाउँपालिका हो–ऐसेलुखर्क गाउँपालिका । उत्तरका अधिकांश भाग सोलुखुम्बुसँग जोडिए पनि ज्यामिरेको उत्तरी पश्चिमी भाग भने ओखलढुङ्गासँग जोडिएको छ । यो पालिकासँग सदरमुकामबाट जान सकिने लामो दुरीका दुइवटा सडकहरु छन् । हिउदमा सहज भए पनि वर्षादको समयमा ती सडकहरु अत्यन्त जोखिमपूर्ण र अप्ठेरा बन्छन् ।

यो पालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ४३ करोड १७ लाख ७५ हजार ९ सयको कुल वजेट प्रस्तुत गरेको छ । यो गाउँपालिकाले विभिन्न शिर्षकहरुमा सडक स्तरोन्नतिका प्रसंग कोट्याएको छ । वजेट विनियोजन शिर्षकमा पनि गाउँपालिका तथा संघीय सरकारसँगको समपूरक अनुदानबाट रकम व्यहोर्ने गरी ऐसेलुखर्क–फापरश्वोरादेखि ज्यामिर वडा कार्यालय सडक स्तरोन्नतिका लागि रु.१ करोड २० लाख , ऐसेलुखर्क वजार ढलानको लागि गाउँपालिका र प्रदेश सरकारसँगको समपूरक अनुदानबाट रकम व्यहोर्ने गरी रु १ करोड ३० लाख वजेट विनियोजन गरिएको उल्लेख छ । यहीँ शिर्षकको अर्को बुँदामा गाउँपलिका भित्रका पुराना सडक मर्मतका लागि रु ३५ लाख विनियोजन  गरिएको जनाइएको छ । 

पूर्वाधार विकास अन्तर्गत सडकलाई नै पहिलो प्राथमिकतामा राखिएकोे छ । आव २०८०/८१ मा ऐसेलुखर्क गाउँपालिकाको यातायात गुरुयोजना निर्माण गरिने भनिएकोछ । ऐसेलुखर्क गाउँपालिकाका मध्यपहाडी लोकमार्गसँग जोडिने र गाउँपाकिालको केन्द्र र वडा कार्यालय जोड्ने सडकको स्तरोन्नतिको कामलाई निरन्तरता दिइने उल्लेख छ । यसका लागि गाउँपालिकाले आफ्नै स्काभेटर मेशिन सञ्चालनका लागि आवश्यक प्रवन्ध मिलाइने भनिएको छ ।

वाराहापोखरी गाउँपालिका

वाराहापोखरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल वजेटरु ३७ करोड ४७ लाख ५९ हजार रकम पेश गरेको छ । वाराहापोखरी गाउँपालिकाले सडक तथा पूर्वाधार विकास अन्तर्गत गाउँपालिकाको गौरवको आयोजनाको रुपमा धाप्लाङ–धर्तुङ–सिन्ताङ–वाराहापोखरी सडकलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । जसका लागि स्तरोन्नतिका काममा प्रदेश तथा संघीय सरकारको साझेदारीमा रु १ करोड ८९ लाख वजेट विनियोजन गरिएको छ । यस्तै अन्य सडक तथा पूर्वाधार विकासका लागि भनेर एकमुस्ट रु २ करोड ९० लाख ५० हजार वजेट विनियोजन गरिएको उल्लेख छ ।

 

साकेला गाउँपालिका

साकेला गाउँपालिकाले २०८०/८१ का लागि रु ३३ करोड ८८ लाख ८१ हजारको वजेट पेश गरेको छ । अन्य पालिकामा भन्दा यो पालिकाका सडकहरुको अवस्था राम्रो छ । पालिकाको गौरवको आयोजनामा पान्धारे–मात्तिममानेभन्ज्याङ–साप्सुखोला जोड्ने महत्वपूर्ण सडक मानिन्छ, जसको स्तरोन्नतिको काम तिव्रगतिमा भैरहेको छ । आगामी आर्थिक वर्षका लागि पेश गरिएका वजेट तथा कार्यक्रममा पनि गौरवको आयोजना अन्तर्गत साप्सुखोला–पाँचधारे सडक, कात्तिके–सोस्तुङ–रतन्छा–चखेवाभन्ज्याङ सडक र नैनेपाटी–काल्चिङ खोला सडकहरुको निर्माण कार्यमा संघीय सरकार तथा प्रदेश सरकारसँगको साझेदारी र समन्वयलाई निरन्तरता दिइने उल्लेख छ ।

साकेला गाउँपालिकामा ट्रयाक खनिएका सडकहरुको स्तरोन्नति गर्ने क्रममा सडकको अवस्थाको गाम्भिर्यताको आधारमा नाली सहितको ग्राभेल सडक निर्माण गर्ने भनेर गाउँपालिकाले  दिगो सडकका निम्ति संवेदनशिल रहेको संकेत दिइएको छ । ग्राभेल सडक निर्माणका लागि आवश्यक पर्ने मेशिन उपकरणहरु व्यवस्था गर्ने भनिएको छ । सडक सुचारु राख्न हेरालुको प्रवन्ध गरिने उल्लेख भएबाट साकेला गाउँपालिका दिगो सडकका निम्ति सचेत रहेको देखिन्छ ।

      

वास्तवमा  पूर्वाधार विकास अन्तर्गत सडक निर्माण, विस्तार र स्तरोन्नति विकास निर्माणको सन्दर्भमा मेरुदण्डकै रुपमा लिनुपर्ने हुन्छ । अन्य क्षेत्रहरुमा जतिसुकै  प्रगतिको मापदण्ड माथि रहे पनि सडकको अवस्था जीर्ण र दुःखद रहेसम्म नागरिकहरुले सास्ति खेपिरहेकै हुन्छन् । जति निर्माणका कामहरु हुन्छन्, तिनलाई कार्यक्रमको तालिका बनाएर शरद ऋतुको पूर्वसन्ध्याबाट थालनी गर्ने शुद्धि सबैमा जाग्नुपर्छ । वजेट आषाढमा ल्याउने र त्यसलाई कार्यान्वयनको चरण पुरा गर्दै निर्माण तहसम्म लैजादा बशन्त ऋतु लागिसक्ने अनि आर्थिक वर्षको अन्ततिर ज्यान फालेर फिल्डमा काम शुरु गर्ने परम्परा र पद्धतिले  सधैँ असारे झरीसँगै विकास पखालिएर जाने विडम्वना देख्नु परिरहेछ । 

सांसदहरु आफैँ विकासमा वजेटको रकम छर्ने नीति पुन व्युताइयो यो वर्षदेखि । यसले थप आर्थिक अराजकता र चुवाहट निम्तिने खतरा थपिएको छ । मुलुककै नीति, कार्यक्रम र वजेट पारित गर्ने ठाउँमा बसेर आफ्रनै हातबाट योजना छनौट गर्दै रकम उपलव्ध गराउने नीति विरोधाषपूर्ण रहेको छ । यसलाई कालान्तरमा परिमार्जन नगरी सुखै छैन ।

सांसदहरु केन्द्रिय आयोजनाहरुको अनुगमन समितिमा रहेर ती योजनाहरुको कार्यान्वयन देखि समापनको चरणसम्म रखवारी गर्न जिम्मेवारी तोकिदिए ठेकेदारहरुको काममा तिव्रता रहन्थ्यो । यसो त जिल्लाको विकास निर्माणमा खवरदारी गर्नु सासदहरुको कर्तव्य हुदै हाे, अझ परियोजना तोकेरै साँसदहरुलाई अनुगमन समितिको जिम्मा दिनु औचित्यपूर्ण रहन्थ्यो । जस्तो खोटाङभित्र पर्नेे मध्यपहाडी सडक, मौरे फोक्सिङटार सडक, ठूला अन्य भौतिक पूर्वाधार निर्माणको काम अनुगमन गर्ने, प्रगति प्रतिवेदन तयार गर्ने, सरकारका सम्बन्धित मन्त्रालयलाई जानकारी गराउने जस्ता कामका लागि विशेष अनुगमन समितिहरु सरकारले बनाउनु जरुरी हुनेछ । 

त्यस्तै प्रदेश सरकारले प्रदेश तहका आयोजनाहरुमा प्रदेश साँसदहरुको संयोजकत्वमा अनुगमन समिति गठन गरेर कामको ताकेतामा भूमिका दिनु उचित हुन्छ । त्यस बाहेक समग्र जिल्ला भित्रका आयोजनाको रेखदेख, खवरदारी र ताकेता गर्नु त छदैछ ।

स्थानीय सरकारहरुले पनि सडक निर्माण गर्दा नाली अनिवार्य बनाउनु पर्ने नीति बनाउनु पर्छ । हरेक पूर्वाधार निर्माणको काम सुख्खा हिउँद महिनामा गर्ने वातावरण सिर्जना गर्नुपर्छ । फागुन समाप्त भए पछि मौसम प्रतिकूल भएर जान्छ । यसमा हेक्का रहनु जरुरी छ । हिउद वर्षा जे होस जिल्लाका कुनै पनि वडा, पालिका या अर्को जिल्ला जानआउन सडक सहज होस, गुणस्तरीय बनोस अनि सबैले अनुभूति गर्न पाउँ --गाउँमा विकास भैरहेकै छ । जनजनको मन मनमा लागोस--जनप्रतिनिधिहरु जसलाई जिताइयो, सही मानिसलाई नै जिताइयो ।

 

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विध्युत शर्ट हुँदा एक घर पूर्णरुपमा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.४ बडहरेमा स्थानीयहरु...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिप्रुङचुर्ईचम्मा गाउँपालिका वडा नं. १ याम्खास्थित...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको रावाबेसी गाउँपालिका –४ डुम्रे धारापानीका अग्निपीडित परिवारलाई राहत...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३...

हलेसीन्युजडेस्क, खोटाङ/ जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

Horoscopes Icon

All Horoscopes