सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा || सूचना र संचारको जगतमा - सामुदायिक रेडियो हलेसी एफ.एम. तपाईहरुकै साथमा

  • बुधबार, फागुन १०, २०७९
  • ०३:२०:५७
Profile Image

एमसी सुमित/जीवन र जगत

बैशाख २९, २०८१, खोटाङ

Image

Happy birthday मलाई !


  • एमसी सुमित

 

ट्वाक्कै ५५ वर्ष पुगेर ५६ लागियो । आधा जोभान त ख्याल–ख्यालमै ढल्यो । अब आधा ख्याल गर्नुपर्ने समय आयो ।

यो मेरो जन्मदिन ठ्याक्कै कुन दिन हो ? न मलाई थाहा छ, न मलाई जन्माउनेहरूलाई थाहा छ ! थाहा थियो त हाम्रो पुरानो घरको आँगन छेउमा रहेको सुङ्गुर खोरको पाटामा रहेको तल्लो खन्डा सानो खोर्सानी रोप्ने सुर्कालाई थाहा थियो । अब त्यसको कुनै चिनोबानो छैन ।

म – ‘‘ह’ना, म कुन दिन जन्मेको हो?’’
आमा – ‘‘तँं सोमबार जन्मेको हो। कान्छि (फूपू)हरू अर्खौले बजार गएको थियो ।’’
बाबू – ‘‘तँं बैशाख २६ गते जन्मेको हो ।’’

आमा र बाबुको यो हिसाब मेल खादैनथ्यो । त्यसैले म आफैले स्कुलको रेकर्डमा बैशाख २८ (May 10) लेखाएँं । र, त्यही मेरो जन्मदिन ।

म ५५ वर्षको उमेरसम्म आफूलाई थाहा पाउदै छु । यो पनि प्रारब्धको चामत्कारिक खेल हो । मलाई हेर्ने कोर्ने जोगी, सन्यासी, धामी, बिजुवा सबैले धेरै बांच्दैन भन्नेभित्र पर्ने मान्छे हु ं। अब मर्नु चाहिँ मर्छु, कुन दिन मर्छु ।

म झन्डै पहिल्यै मरेको हो । यति शुन्दर संसार र यति कुरुप जिन्दगी भोग्नु थियो रैछ र बांचेको रहेछु । (फेरि ज्यान नपरेको भन्या’ होइन, केटा असला माछा हो । भर्ती चाहिँ उचाइ नाप्ने डोरीभित्र छिरेको हुनाले नलागेको) । अं, म झन्डै मरेको कथा पनि रमाइलै होला ।

१) मेरी आमा २००६ सालमा जन्मेको । २०१५ सालमा बिहे भएको । २०२० सालमा मूलघरबाट छुट्टिएको । अनि म जन्मेको २०२५ सालमा । म जन्मने दिन र’छ । बाबू घरमा थिएनन् । बेलुकी कोकुले हेरेर बुहारी ठिकै छ भनी घर जानू भएछ । आमालाई राती व्यथा लागेछ । मैले अघि भनेको खोर्सानी बारीबाट तल्लो घर सासुलाई बोलाउनु भएछ । सबै सुतेकाले कसैले सुनेनन्  । आमाले मलाई त्यहीं जन्माउनु भएछ । अलि होश हुँदा मलाई गुन्युमा पोका पारेर सिकुवा ल्याउनु भएछ । तर यतिकैमा अत्यधिक रक्तस्रावका कारण आमा बेहोश हुनुभएछ । नानी कता ! आमा कता !! बिहानपख भालेकै डाकमा  सासू आउदा आमा एकातिर चित, नानी लगभग मरिसकेको । हरियो फर्केको नानीलाई सेक तापको कार्यक्रमको धेरै पछि सास फेरेपछि म बांचेको र’छु । 
यदि कोकु भालेकै डाकमा बुहारी हेर्न नआएको भए.......??

२) म जन्मेको झन्डै २२/२५ दिनदेखि आमाको स्तनमा घाउ भयो । मेरो भान्साघर घाउ भएपछि मैले अघाउजी दूध खान पाइनँ । म सासले मात्र रुन्थेँ रे । “यस्तो हिर्दुक भएर के बांच्नु“ भन्थे रे देख्नेहरू । आमा भन्नुहुन्छ,₋‘‘तेरो मुटु कलेजो, आन्द्रा भुँडी सबै देखिन्थ्यो ।’’ मुख प्याक प्याक भएर हिरिक्क जानू आंटेको आमाले हेर्नू सक्नु भएनछ र– “आ, अब जे त पर्ला ।’’ भनेर आफैले खाँदै गरेको सिस्नोको चिप्लो रसमा  मकै भात (पिथे) औलाले मिचेर मेरो मुखमा हालीदिनु भएछ । केटोले घुलुक्क निलेछ र एवम् क्रमले लितो खाने उमेर नभई भात खाएर बाँचेछ । (त्यतिखेर आमालाई लितो बनाएर ख्वाउनु पर्छ भन्ने थाहा पनि थिएन भन्नुहुन्छ ।)
यदि पिथे भात मिचेर ख्वाउने आमाले आंट नगरेको भए.......??

३) सिस्नोको रसमा भात खाने केटो, चिसोले भेटिरहने । (हाम्रो घर अति चिसो जगमा छ। आगो नफुके अगेनुमा लेउ पलाउछ ।) मलाई सधै सधै जङ्गलीले सताइ रहने । म पटक पटक बेहोश हुँदै बौरनु पर्ने । (त्यतिखेरको जङ्गली देउ भनेको निमोनिया रहेछ । मसान भनेको जुका, आंउ, झाडाबान्ता रहेछ ।) एक पटक खर्कमा बाबा जोत्ने, आमा सियो लाउने । दिउँसो मलाई जङ्गली लागेछ । आमा नानीको धन्दामा । बाबाको सक्नुपर्ने मेलो । बुढोलाई खुब रिस उठेछ । (म सधै मर्नु न बाँच्नुको बिरामले बाबा वाक्क थिए सायद)

बाबू₋‘‘बाह्र वर्षमा उन्यु फुल्यो गुहु गन्ध । खोल्सामा मिल्काई दे’ पिसात्लाई । दुःख दिन भगवानले पठाएको सैतान ।’’ 
आमा–‘‘फ्याँक्ने छोरा कसको सस्तो छ । छोरा फ्याँंकिस भने म पनि मर्छु । हेरी राख ।’’

आमा पनि रुँदै कराएपछि बाबाले थप करामत गरेनछन् ।  

मरेतुल्य अचेत नानी च्यापेर आमा सिधै मेलो छोडेर धामी खोज्दै थामसरिम्पाको घर पुग्नु भएछ । तर धामी पनि मकै छर्नु मुलपानी भएको जानकारी पाएपछि आमा त्यतै लाग्नुभएछ । धामीले गोरु बिसाएर नानीको नाडी छामेर मेरो आमालाई “बैनी, बैनी ..!’’ मात्र भन्नू भएछ । आमाले धामीको आशय बुझ्नुभएछ, तर डाँको छाडेर रुनलाई आमासित आँसु सकिएको थियो रे । धामीले “घर जाँदै गर्नु, तै म भरै आउछ ।’’ भने पछि “कसैगरि आउनु है दाजै !’’ भनेर आमा घर फिर्नु भएछ । म अचेत भएपछि आमा घर आइपुग्दासम्म करिब ३ घन्टाको समय होला भनेर आमा अनुमान  गर्नुहुन्छ । गोरु खोलेर धामी घरमा आइपुग्दा पारि सङ्खु पाखामा रातो घाम बसिसकेको थियो रे । हो, ठिक यही बेला धामीले मेरो नाडी बिचार गरेर चिराइतो वा अरु केही निचोरेर मेरो मुखमा चुहाइ दिनुभयो रे । “भरैसम्म पर्खनु !’’ भन्दै धामी घर फिर्नु भो’छ । (शायद मलाई छिटै भिरको ओढारमा “बुत्ता’’ नलगोस् भन्ने आशय धामीको हुनसक्छ ।) भरै रातितिर बिस्तारै नानीको अनुहारबाट फुस्रो रङ हट्दै गयो । र नानीले दोहोरो सास फेर्न थाल्यो । अनि यसरी म फेरि पनि बाँचे ।

यदि नानी मरेको भनेर ओढारमा फ्याँक्न लगेको भए..........??
बाँचें, र यो जन्मदिन मनाउदै छु ।
अब मर्छु, तर कुन दिन मर्छु ?।
 

(साभार–सामाजिक सञ्जाल) 
 

हलेसीन्युजडेस्क, खोटाङ / मकालु साहित्यिक समाज संखुवासभाको आयोजनामा पञ्चेबाजामा...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङमा निर्धारित समय अगाडि नै काम सम्पन्न गर्ने...

हलेसीन्युजडेस्क, खोटाङ / नेपाल सरकारले लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार...

हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. ५ चिसापानी, खुटास्थित वालोदय...

हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा...

Horoscopes Icon

All Horoscopes